 
	
काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बनाउनुभएको छ।
सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताउनुभएको हो।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए। अहिले त्यसमा क्रमशः सुधार आउँदैछ। बैंकको ब्याजदर केही घटेको छ। यो महिनाभित्र थप केही घट्छ।’’
‘‘अघिल्लोपटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै थियो। तर, निकै ठूलो दुख र मेहेनतपछि त्यसमा राम्रो सुधार आयो। ७।५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरियो। राजनीति र अर्थतन्त्र दुवैमा राम्रो प्रगति भयो। त्यसपछि नेपाली कांग्रेसका सभापति देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गरिदिएँ। अहिले पनि म त्यस्तै परिस्थितिमा प्रधानमन्त्री भएको छु। यतिबेला मैले अघिल्लो कार्यकाल सम्झिरहेको छु।’’
‘‘उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न सकिँदैन। त्यसैले सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेका छौँ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अर्थतन्त्र लयमा फर्किन थालेको छ। यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु। अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ।’’
‘‘मौलाकालिका राष्ट्रिय रूपमा नै पर्यटकीय केन्द्र बन्दै गएको छ। मौलाकालिका, देवघाट, राष्ट्रिय निकुञ्ज, नारायण नदी आफैमा पर्यटनका ठूला गन्तव्यहरू हुन्’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो परियोजनाले यी क्षेत्रहरूलाई जोड्नेछ। यस क्षेत्रको धार्मिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनमा गुणात्मक प्रगति हासिल हुनेछ भन्ने विश्वास लिएको छु। चितवन र नवलपुरलाई विशेष आर्थिक क्षेत्रको रूपमा विकास गर्नुपर्छ। यसो गर्दा यहाँको विकासले क्रान्तिकारी फड्को मार्नेछ।’’
‘‘निजी क्षेत्रलाई संकटबाट मुक्त गर्न र माथि उठाउन यसबीचमा ठूलो मेहेनत गरिएको छ। मेहेनतको सबै नतिजा त आइसकेको छैन, तर क्रमशः सुधार भएको छ। निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरी नेपालको समृद्धि र विकासले गति लिन सक्दैन भन्नेमा म प्रष्ट छु। उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका नै मुख्य रहन्छ। त्यसमा राज्यले आवश्यक वातावरण निर्माण, व्यवसायमैत्री कानुन र सुरक्षा प्रबन्धको व्यवस्था गर्नुपर्छ।’’ प्रधानमन्त्रीले भन्नुभयो।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, नेपाली कांग्रेसका नेता शशांक कोइराला, केवलकारका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले सम्बोधन गर्नुभएको थियो।
नवलपुरको गैंडाकोट नगरपालिकामा निर्माण सम्पन्न यस परियोजना १३ महिनामा सम्पन्न गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो। १.२ किलोमिटर लम्बाइ रहेको केवलकार र होटल निर्माणमा प्रालिले करिब २ अर्ब लगानी गरेकोसमेत उहाँले बताउनुभयो।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


