काठमाडौं । ज्योति विकास बैंकले ६ वटा अस्पताललाई बेबी वार्मर दिएको छ ।
बैंकले मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको बेबी वार्मर प्रदान गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो ।
बाराको फेटा स्वास्थ्यचौकी, चितवनको खैरहनी नगर अस्पताल र बघौडा अस्पताल, रुपन्देहीको हर्नैया स्वास्थ्यचौकी, दाङको सिसहनिया स्वास्थ्यचौकी र कञ्चनपुरको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बैंकले जनाएको छ ।
सम्बन्धित अस्पतालमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीले उक्त अस्पतालका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ ।
उक्त अस्पतालमा डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको बैंकले जनाएको छ ।