काठमाडौं । फिफा विश्व कप कतार–२०२२ को सकिएको छ । थप गरिएको समयमा पनि बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेर उपाधि जितेको हो । योसँगै विश्वकप सकिएको छ ।
अर्जेन्टिनालाई विश्वकप जिताउन कप्तान लिओनल मेस्सी र गोलरक्षक एमिलियानो मार्टिनेजको मुख्य भूमिका रह्यो । हुन त खेलमा अन्य खेलाडीको पनि त्यतिकै भूमिका थियो ।
कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाए । फाइनलमा उनले दुई गोल गरे । पहिलो हाफमै गोल गरेर मेस्सीले खेलाडीलाई उत्साहित बनाएका थिए ।
त्यसैगरी गोलरक्षक मार्टिनेजले पेनाल्टीमा फ्रान्सको क्याच गरेर अर्जेन्टिनालाई उपाधिको लागि अगाडी बढाए । यही गोल विश्व कप उपाधि दिलाउन निर्णायक बन्यो ।
गोलरक्षक मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका छन् ।
मार्टिनेजले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे । मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए ।
योसँगै फुटबल इतिहासमा अर्जेन्टिनाले इतिहास रचेको छ । मेस्सी विश्व च्याम्पियन भएका छन् । उनको यो अन्तिम विश्वकप हो ।