काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो ।
सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए । उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको जानकारी दिए ।
उनले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको बताए । उनले किशोरीको बयान शङ्कास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पारे ।
उनले भने, ‘प्रहरीले नै ढिला ल्याउने काम गर्यो, त्यसकारण नै ढिला सुरु भयो । बत्ती गएका कारण पनि केही बाधा आयो । आज बयान सकियो । थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ । जबरजस्तीकरणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्साहटमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु । जन्मदर्ताका प्रमाण केही भेटिएका छन् । बयान प्रमाणित हुन पाएको छैन, आज श्रीमान् चाँडै निस्किएका कारणले । पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको ब्यहोरामा डाक्टरहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’
सन्दीपमाथि गत भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
घटनास्थल भनिएको होटलका कर्मचारीले लामिछानले फोन गरेर कोठा बुक गरेको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेखित होटल काठमाडौं इनका रिसेप्सनिस्ट अनिश श्रेष्ठको बयानमा लामिछानेले फोन गरेर ‘एउटा कोठा चाहिएको’ भनेको उल्लेख गरेका छन् ।
‘५ भदौमा राति ११ बजेतिर रिसेप्सनमा जडान गरेको ०१–४४…. नम्बरको ल्याण्डलाइनमा फोन गरेर म होटल आउँदैछु, मलाई एउटा कोठा चाहिन्छ । छ/छैन भन्दा मैले कोठा छ भनेको थिएँ’, श्रेष्ठले भनेका छन्, ‘मैले कोठा छ भनेर निजले फोन गरेकै समयमा ४०७ नम्बर कोठा सोही होटलमा काम गर्ने सबिन श्रेष्ठलाई सरसफाइ गर्न लगाएको थिएँ ।’
फोन गरेको २०/२५ मिनेटमा लामिछाने गाडी लिएर होटल बाहिर आएको उनले भनेका छन् । याे बयानले सन्दीप लामिछानेले बोलेको झुट छताछुल्ल भएको छ ।
‘बाहिर निस्किएर हेर्दा लामिछानेले होटल बाहिर गाडी रोके भने गाडीबाट उनीसँग आएकी किशोरी ओर्लिएर रिसेप्सनमा कोठाको चाबी दिनु भनी मागेकी थिइन्’, उनले भनेका छन्, ‘सरसफाई गरी रिसेप्सनको अगाडिको टेबलमा श्रेष्ठले छाडेको ४०७ नम्बरको कोठाको चाबी दिएको थिएँ ।’
पछि रिसेप्सनमा फोन गरेर ‘कोठाको एसी चलेन, साङ्लाहरु पनि रहेछ’ भनेपछि जाँच गर्न पठाएको उनले बताएका छन् । त्यसपछि अर्को कोठा चाहियो भनेर लामिछानेले भनेपछि २०५ नम्बरको कोठा खाली भएकाले ‘त्यहाँ गएर बस्दै गर्न’ भनेको श्रेष्ठको भनाइ छ ।
त्यसपछि उनीहरु त्यहीँ बसेको उनको बयान छ । बला त्कार भएकोबारे २२ भदौमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मात्रै थाहा पाएको उनले भनेका छन् ।