काठमाडौं । छठ सकिएको छ । आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको हो । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।
छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका थिए । उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डौको गुह्येश्वरी, कमलपोखरीलगायत तराई मधेसका ऐतिहासिक गङ्गा सागर, पोखरी तथा नदी तलाउमा तलाउमा बर्तालुहरुको घुइँचो लागेको थियो । झकिझकाउ बनाएर सिँगारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठले केही वर्षदेखि राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
यसैबीच मधेस प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् हिजो मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो।