काठमाडौँ । युक्रेनी सेनाका एक उच्च कमाण्डर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको एक इशारामा तेस्रो विश्वयुद्ध हुने खुलासा गरेका छन् । युक्रेनी सेनाका एक उच्च कमाण्डर जनरल भ्यालेरी जालुज्न्याकले सो खुसाला गरेका हुन् । उनले पुटिनले आणविक हतियार प्रयोग गर्ने आदेश दिन सक्ने भन्दै त्यसपछि तेस्रो विश्वयुद्धको छेउमा पु¥याउने चेतावनी दिएका छन् ।
ती सैन्य कमाण्डरले पछिल्ला दिनमा रुसी सेना पछाडि धकेलिएको र निरास भएको अभावको सामना गरिरहेको अवस्थामा पुटिनले आणविक हतियार प्रयोगको आदेश दिन सक्ने बताएका छन् । उनले पुटिन जसरी पनि युद्ध जित्ने मानसिकतामा रहेको समेत बताए । यस्तो अवस्थामा पुटिनले आणविक हतियार प्रयोग गरेर युद्धको लहरलाई मोड्न सक्ने खतरा रहेको उनले दाबी समेत गरे । द सनको रिपोर्ट अनुसार, जालुज्नियाकले आफ्नो चिन्ता व्यक्त गर्न युक्रेनी सांसदको लेख प्रयोग गरे । विशेष परिस्थितिमा रुसी सेनाले आणविक हतियार प्रयोग गर्ने स्पष्ट खतरा रहेको चेताबनी दिए ।
आणविक द्वन्द्वमा विश्वका अन्य देशको प्रत्यक्ष सहभागिताको सम्भावनालाई पनि पूर्ण रूपमा नकार्न नसकिने रिपोर्टमा उल्लेख छ । यसको अर्थ तेस्रो विश्वयुद्ध भएको बताइएको छ । जनरलले भने, ‘पश्चिमले क्रेमलिनलाई चेतावनी दिन आवश्यक छ, यदि आणविक हतियारहरू प्रयोग गरियो भने यसले प्रतिकारको सामना गर्नेछ ।”
रसियाको आणविक हतियारको प्रयोगको खतराको बारेमा युक्रेनी जनरलको चेतावनी सेवानिवृत्त ब्रिटिश जनरल सर रिचर्ड ब्यारोन्सको चेतावनी पछि आएको हो । रिचर्डले युक्रेनमा पराजय भोगेमा पुटिनले आणविक हतियार प्रयोग गर्ने सम्भावना रहेको बताउँछन् । उनले पश्चिमा नेताहरुले चाहे जति रुस पछि धकेल्न भने नसकिएको बताए ।
रुसी सेनाले पछिल्लो दिनमा खारकीभमा भिषण हमला गरेको छ । पश्चिमा देशले दिएका हतियार र लडाकु रहेका विभिन्न २० क्षेत्रलाई निसाना बनाएर हमला गर्दा १ सय जति युक्रेनको पक्षमा लडिरहेका सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । त्यस्तै, पश्चिमा देशहरुले दिएका हतियार पनि नष्ट भएको बताइएको छ । अमेरिकाले दिएका हिमार्स मिसाइल सिस्टम सो क्षेत्रमा तैनाथ गरिएपछि रुसी सेनाले भिषणा हमला गरेको बताइएको छ ।
यसअघि यसैगरी रुसी सेनाले खेरसनमा पनि पश्चिमा देशले दिएका हतियारलाई निसाना बनाएको थियो । त्यहाँ तैनाथ गरिएको हिमार्स मिसाइल सिस्टम ध्वस्त पारेको रुसले दाबी गरेको थियो । युक्रेनले सडक, पुल भत्काउँदै रुसी सेनालाई पछि धकेल्न भिषणा गोलाबारी गरेको थियो । तरपनि रुसी सेनालाई पछि धकेल्न नसकेको बताइएको छ । सो क्षेत्रमा रुसी सेनाले मोर्चाबद्ध लडाइँ लडिरहेको छ ।
यसैबीच युक्रेनले पूर्व र दक्षिणमा २७० वर्ग माइलको क्षेत्र फिर्ता लिएको दाबी गरेको छ । शुक्रबार देशको पूर्वी भागमा रूसी सेनाहरू विरुद्ध आफ्नो बदलाको हडतालमा नयाँ सफलता दावी गरे र एउटा ठूलो गाउँलाई नियन्त्रणमा लिएको युक्रेनले बताएको छ ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


