काठमाडौँ । ओमानमा जारी टि-२० एसिया कप छनोटमा युएईलाई १ विकेटले हराउँदै कुवेतले रोमाञ्चक जित निकालेको छ।
पहिलो पटक कुवेतसँग पराजित भएको युएईलाई अब शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सम्भावना कठिन बनेको छ। युएईले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको कुवेतलले अन्तिम बल बाँकी छँदै ९ विकेट गुमाउँदै पुरा गर्यो।
कुवेतको जितमा ओपनर रवीजा संदारूवानले सर्वाधिक ३४ रन बनाए। मिट भास्वरले २७ रन बनाउँदा एडसन सिल्भाले १४ बलमा २५ रन जोडे।
यस्तै उस्मान पटेल २१ तथा कप्तान मोहम्मद अस्लाम १९ रनमा आउट भएका थिए। युएईका बासिल हमीदले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्ताफा, जुनाइद सिद्धिकि, अहमद राजा र जाहुर खानले समान १-१ विकेट लिए।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनायो।
युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ८८ रन बनाए। अर्का ओपनर मोहमम्द वासिमले ३५ रन जोडे। वृत्य अरविन्दले ३३ रन बनाएका थिए।
कुवेतका मोहम्मद शफिक, सैद मोनिव र शिराज खानले एक-एक विकेट लिए। युएई, कुवेत, हङकङ र सिंगापुर सम्मिलित खेलको शीर्ष स्थानमा रहने टोलीले एसिया कप खेल्नेछ।
यसअघि पहिलो खेलमा हङकङले सिंगापुरलाई ८ रनले हराएको थियो। सोमबार युएई र सिंगापुर खेल्नेछन्।