काठमाडौँ । रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।
युक्रेनका कारण आफूमाथि लगाइएको प्रतिबन्धले दुई देशबीचको अवस्था परिवर्तन भएको रुसले जनाएको छ । यहि बेला यता अमेरिकाले भने युक्रेनलाई रुसी सेनाले राखेको बारुदी सुरुङ हटाउन ८९ मिलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
उक्त रकमले १०० वटा बारुदी सुरुङ हटाउने टोलीलाई सहयोग र थप युक्रेनी कर्मचारीहरूलाई तालिम र सुसज्जित गर्नेछ । युद्धका क्रममा युक्रेनमा विभिन्न क्षेत्रमा बारुदी सुरुङ बिच्छाइएका अनुमान गरिएका छन् ।
‘रुसको गैरकानुनी र अप्रत्याशित थप आक्रमणले युक्रेनको ठूलो भूभागमा बारुदी सुरुङ, विस्फोट नगरिएका हतियारहरू र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू भरिएको छ’, अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
‘यी विस्फोटक खतराहरूले उर्वर खेती भूमिमा पहुँच रोक्छ । पुनर्निर्माण प्रयासमा ढिलाइ गर्दछ । विस्थापित समुदायहरूलाई उनीहरूको घर फर्कनबाट रोक्छ र निर्दोष युक्रेनी नागरिकको ज्यान जोखिममा पार्छ, ’ विज्ञप्तिमा भनिएको छ ।
रुसी सेनाले खाद्यान्न सुविधा, कार ट्रक, धुने मेसिन, ढोका, अस्पतालको ओछयान र लडाइँमा मारिएका मानिसहरूका शव लुकाइएका स्थानमा माइन राखेको एक अमेरिकी अधिकारीले बताएका छन् ।
पछिल्लो सैन्य सहयोगमा थप हिमर्स प्रणाली मिसाइ समावेश छन् । यी मिसाइलले युक्रेनी सेनालाई युद्ध मोर्चाभन्दा धेरै टाढाबाट रुसी फौजलाई हमला गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।
प्याकेजमा रुसी विमान र रकेटविरुद्ध सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रहरू, थप जेभलिन एन्टि–आर्मर रकेटहरू र अन्य गोला बारूदहरू पनि समावेश रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
पछिल्ला समयमा रुसले आफ्नो सम्पूर्ण बल पश्चिमी युक्रेनमा केन्द्रित गरेको छ भने युक्रेनले रुसले कब्जा गरेको खेर्सन सहरलाई पुनः फिर्ता गर्ने दाउमा रणनीतिक युद्ध गरिरहेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् ।
यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।
यसैबीच, २४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले दाबी गरेका छन् । रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले यस्तो दाबी गरेका हुन् ।