काठमाडौँ । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् ।
कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि पूर्ण रुपमा तयार भएको बताएका छन् ।
उत्तर कोरियाले आफ्नो सातौँ परमाणु परीक्षण गर्न सक्ने अडकलबाजीका बीच किम जोङ उनको यो बयान सार्वजनिक भएको हो । उत्तर कोरियाले आफ्नो अन्तिम परमाणु परीक्षण सन् २०१७ मा गरेको थियो ।
यद्यपि, कोरियाली प्रायद्वीपमा अब तनावका माहौल बढिरहेको देखिएको छ । उत्तर कोरियाको विशेष अमेरिकी प्रतिनिधि सुङ किमले यस वर्ष प्योङयाङले अभूतपूर्व संख्यामा मिसाइल परीक्षण गरेको बताएका छन् ।
सन् २०१९ मा उत्तर कोरियाले २५ पटक मिसाइल परीक्षण गरेको थियो जबकी यस वर्ष उसले ३१ वटा परीक्षण गरिसकेको छ । जूनमा दक्षिण कोरियाले जवाफ दिँदै आफ्नो आठौँ मिसाइल परीक्षण गरेको थियो ।