काठमाडौं । शनिबार साँझ नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको बताएको छ ।
केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
स्थानीयका अनुसार दिनभर काम गरेर खाना खाइरहेको बेला भूकम्प गएको थियो । स्थानीय खान लागेको भाग छोडेर खुला स्थानतिर दौडिएका थिए । स्थानीय रमेश गुरुङले आफूहरु खाना खान लागिरहेको बेला भूकम्प गएको बताए । उनले खाना छोडेर खुला ठाउँमा जानै लाग्दा कम्पन कम भएको बताए ।
फेरि भूकम्प आउन सक्ने भन्दै केही समय घर बाहिर बसेपनि अहिले भने सबै घरभित्र पसिसकेको बताए ।
गोरखाको बारपाक केन्द्र बनाएर भूकम्प गएपछि दोलखाको सिंगटी केन्द्र गएको अर्को भूकम्पबाट ठूलो जनधनको क्षति ब्यहोरेको सिन्धुपाल्चोकबासी पराकम्पन आउँदा पनि त्रसिद हुन्छन् । गोल्छे आसपासको क्षेत्रमा पराकम्पनको ठूलो प्रभाव परेको थियो ।
काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पनि भूकम्पले धक्का महशुस गरिएको थियो । भूकम्पबाट कुनै जनधनको क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको सिन्धुपाल्चोक प्रहरीले बताएको छ ।