आज :

गणतन्त्रको लागि माओवादीले लडेका मुख्य लडाइँः २०५२ सालदेखि गणतन्त्र घोषणासम्मका घटनाक्रमसहित

  • अनलाइन डबली

काठमाडौँ । आज गणतन्त्र दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गणतन्त्र स्थापना र राजतन्त्रको अन्त्यको मुख्य एजेण्डा बनाएर तत्कालिन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेबाट जनयुद्धको घोषणा गरेको थियो । जनयुद्धको क्रममा माओवादीले देशका करिब ८० प्रतिशत भूभागमा गणतन्त्रात्मक सत्ता खडा गर्यो । आफ्नै सेना, अदालतसहितका संरचना बनाएर माओवादीले गणतन्त्रात्मक व्यवस्थाका अभ्यास गरेको थियो ।

माओवादी सामन्ती सत्तासँग लड्दै जाँदा तत्कालिन राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएर संसदवादी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । संसद विघटन गरेर सत्ता हातमा लिएपछि तत्कालिन सात राजनीतिक दलका नेताहरु माओवादीसँग हात मिलाउन आइपुगे र गणतन्त्रको लागि सँगै लड्ने प्रतिवद्धता जनाए । त्यसै प्रतिवद्धताको जगमा माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सम्झौता भयो । उक्त सम्झौतापछि माओवादी र सात राजनीतिक सँगै आन्दोलनमा होमिए । माओवादीले तत्कालिन शाही सेनामाथिको हमला जारी राख्यो भने सडक आन्दोलन पनि अघि बढ्यो ।

जनयुद्ध र आन्दोलनको अगाडि झुकेर ज्ञानेन्द्र शाहले वि.सं. २०५९ जेठ ८ गते विघटन गरेको संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरे । संसद पुनःस्थापन पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले १२ बुँदे सहमतिअनुसार सरकार र माओवादीबीच शान्ति सम्झौता भयाे ।

पुनःस्थापित संसदले वि.सं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । माओवादीको मागअनुसार वि.सं. २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्दै गणतन्त्र घोषणा गर्यो ।

गणतन्त्रको लागि माओवादीले २०५२ फागुन १ गतेदेखि गणतन्त्र घोषणासम्मका मुख्य केही मुख्य घटनाहरुः

२०५२ साल- फागुन १ः नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआत । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा ।

फागुन ६ः नेकपा माओवादीका महामन्त्री प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्बाहीको जिम्मेवारी स्वीकार । फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या । फागुन १५ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।

२०५३ सालः असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।

वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा । पुस १९ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको सहादत ।

२०५४ साल-  असारः माओवादीको केसको बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित । भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा ।

माघ २२ः धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैंक लिमिटेडको बीस लाख रुपियाँ कब्जा । फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा । चैत ४ः गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।

२०५५ साल- वैशाखः तत्कालीन नेपाली कांग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’ को किलो शेरा टू नामक अपरेसन सञ्चालन । प्रहरीद्वारा यो अपरेसनको क्रममा पाँचसय जनताको हत्या । भदौः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ’ भने मूल नारा तय ।

कात्तिक १०ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा । पुस १८ः २०५३ पुस १९ गतेको बेथान कार्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्ण हतियारसहित कब्जा ।

सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामग्रीमाथि लुटपाट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार ।

फागुन १९ः दाङको चिराघाट प्रहरी चौकी कब्जा । चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।

२०५६ साल- वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा । जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता । त्यसबेलादेखि तत्कालिन सरकारले नागरिक बेपत्ता पार्न सुरु गर्यो । आजसम्म पनि उनीहरुसहित करिब पाँच हजार बढीको अवस्था सार्वजनिक गरिएको छैन ।

जेठ ३१ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा । भदौ २३ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘बासु’ को गोरखामा गिरफ्तारपछि हत्या । असोज ५ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।

फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत । चैत २१ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।चैत अन्त्यः गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।

२०५७ साल- असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा । भदौ ७ः नवलपरासीको धवाडी इप्रका कब्जा । भदौ १४ः झापा महवारी इप्रका कब्जा । असोज ८ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैङ्क कब्जा । असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा । कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा । पुस ५ः नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।

फागुनः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय ।

चैत १७ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक । चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।

२०५८ साल- जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा । जेठ १९ः दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास । जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड । जेठ २२ः ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा । असार २५ः लमजुङको विचौर प्रहरी चौकी कब्जा । असार २८ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेनाको परिचालन प्रयास ।

असार ३०ः रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा । साउन ६ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा । साउन ४ः माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन । साउन ७ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा । साउन ८ः पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर ।

साउन १२ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।

साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता । कात्तिक २८ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।

मङ्सिर ६ः माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन जनसमुदायमा आग्रह । मङ्सिर ८ः जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।

मङ्सिर ८ः जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा । मङ्सिर १०ः पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ सुरक्षाकर्मीको मृत्यु । मङ्सिर ११ः देउवा सरकारद्वारा सङ्कटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।

मङ्सिर १२ः तत्कालिन शाही सेनाद्वारा भिषण अपरेसन सुरु । जताततै गिरफ्तारी, धरपकड, हत्या र राज्य आतङ्क । मङ्सिर २२ः शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द । फागुन ४ः जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु ।

२०५९ साल- वैशाख १९ः रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग जनसेनाको दिउँसै भिडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टि्िफकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेसक्याम्प कब्जा । जेठ ८ः मुख्यतः माओवादीविरुद्ध लगाइएको सङ्कटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।

जेठ १३ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै कुटीकुटी ह’त्या । असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा ।

असार २८ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी । भदौ २३ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा । असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती । असोज १८ः ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।

कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा । मङ्सिर १८ः लाहानमा रहेको इप्रका र बैङ्क कब्जा । माघ १२ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए । माघ १५ः माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । माघ १८ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।

माघ २९ः युद्धविराम आचार संहिता जारी । चैत १५ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन । चैत २०ः काठमाडौँमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।

२०६० साल- वैशाख १४ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता । साउन ३२ः पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।

भदौ १०ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा जनसेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको सफाया । कात्तिक १०ः जनसेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु । कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा । कात्तिक १६ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।

कात्तिक २१ः नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन । कात्तिक २९ः त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु । मङ्सिरः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता । पुस २ः जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।

पुस २५ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा । माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ । माघ ५ः खड्गबहादुर बिक ‘प्रकाण्ड’को अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा । माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।

माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा, प्रमुखमा देव गुरुङ । माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा, गोपाल खम्बु प्रमुख । माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा, प्रमुखमा मातृका यादव । माघः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी । फागुन १९ः जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा । चैत ७ः जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु । चैत १३ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज क। किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार । चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा । चैत २५ः पशुपतिनगर इप्रका कब्जा ।

२०६१ साल – वैशाख ३१ः माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेपबहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा शहादत । जेठ ६ः डोटीको घन्टेश्वरमा जनसेना–शाही सेना भिडन्त । डेढ दर्जन शाहीसेनाको मृत्यु । असार ३ः अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध सशक्त सङ्घर्ष गरेर सङ्गठनमाथिको आतङ्ककारीको आरोप फिर्ता गराउन सफल ।

साउन–भदौः माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित । भदौ २०ः माओवादी केसद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।

मङ्सिर १ः जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक र हतियार कब्जा । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा । मङ्सिर २ः बाँकेको खैरीखोलामा धरापमा परी ८ सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।

मङ्सिर ५ः कैलालीको पण्डोनमा जनसेनाद्वारा शाही सेनाको रेन्जर बटालियनमाथि हमला, १९ को मृत्यु । ६ थान एमः १६ सहितका हतियार कब्जा । मङ्सिर ५ः नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन । पुस ३ः काठमाडौँको साँखु इप्रका जनसेनाद्वारा कब्जा । पुस ७ः कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला गरी १५ शाही सेनाको मृत्यु । पुस १७ः धनकुटाको सेउती खोलामा जनसेनाको एम्बुस, २० सुरक्षाकर्मीको मृत्यु । माघ १९ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओवदी अध्यक्षको अपिल ।

माघ २०–२२ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द । फागुन १ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन । चैत २०–३०ः माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल ।

२०६२ वैशाख- वैशाख २६ः जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।जेठ २७ः काभ्रेको नार्केमा शाही सेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु । असार ८ः जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण । ८ शाही सेनाको मृत्यु ।

असार ११ः जनसेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ शाही सेनाको मृत्यु । साउन २३ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हतियारसहित कब्जा । असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा । मङ्सिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक । मङ्सिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।

मङ्सिर १४ः शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ को सहादत । मङ्सिर १७ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप । पुस १८ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु । माघ १ः जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा । माघ ८ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा । माघ २६ः माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त । माघ २७ः जनसेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ शाहीसेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा । चैत २४ः सात दल(माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।

२०६३ साल- वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना । जेठ ४ः पुनस्र्था्िपत प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा । जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।

असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति । साउन २४ः गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।
कात्तिक २२ः सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।

मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, एघार बर्से माओवादी जनयुद्धको समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टी्िभत्रै आलोचना । माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट । चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।

२०६४ साल – साउन १८ः नेकपा माओवादीको पाँचौँ विस्तारित बैठक साउन १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा बस्यो । जिल्ला सचिवालय सदस्यदेखि माथिकाले भाग लिएको उक्त बैठकमा माओवादी अध्यक्षले ‘नयाँ वैचारिक स्पष्टता र नयाँ एकता कायम गर्न एकजुट होऔँ’ शीर्षकको २४ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत । उक्त दस्तावेजमाथि १९ गतेदेखि २३ गतेसम्म छलफल गरी आवश्यक संशोधनसहित पारित । उक्त बैठकले संविधानसभा निर्वाचन अगाडि गोलमेच सम्मेलन, गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा जोड दिने निर्णय ।

भदौ १ः माओवादी र सातदलका शीर्षस्थ नेताहरूबीच संयुक्त बैठक । माओवादीको संविधानसभा निर्वाचनमा जानुअगाडि नै गणतन्त्र घोषणा गर्नुपर्ने अडान । भदौ ७ः माओवादी पार्टी केन्द्रद्वारा मुलुकका सबै क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा समसामयिक राजनीतिक विषयमा केन्द्रित रही बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना । भदौ १६ः संविधानसभा निर्वाचन बिथोल्न अज्ञात समूहद्वारा काठमाडौँको बालाजु, सुन्धारा र त्रिपुरेश्वरमा ब म विस्फोट ।

असोज १ः सरकार, सात राजनीतिक दल गम्भीर नबनेको र आफूले अघि सारेका २२ बुँदे मागपत्र उपर कुनै सुनुवाई नभएको भन्दै माओवादी संयुक्त सरकारबाट हटी सोही दिन खुलामञ्चमा जनसभा । शान्तिपूर्ण आन्दोलनमा अगाडि बढेको घोषणा ।

असोज ६ः कांग्रेसको सङ्घीय गणतन्त्रमा जाने सम्बन्धमा महासमिति बैठक । उक्त बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने औपचारिक निर्णय । कांग्रेस र कांग्रेस प्रजातान्त्रिक बिच पार्टी एकता ।

असोज १३ः माओवादीद्वारा देशव्यापी प्रदर्शन गरे पनि देशभरका निर्वाचन कार्यालय घेराऊ गर्ने कार्यक्रम जनप्रदशर्नमा परिणत । मङ्सिर १५ः राष्ट्रियता, गणतन्त्र र संविधानसभा निर्वाचनको सन्देश छर्दै योङ कम्युनिस्ट लिगद्वारा मेची–महाकाली अभियान सुरु ।

पुस ८ः माओवादी र संसदवादी राजनीतिक दलहरूबीच विभिन्न विषयमा २३ बुँदे सहमति भयो । उक्त सहमतिअनुसार अन्तरिम संविधान– २०६३ मा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने र यसको कार्यान्वयन चैत मसान्तभित्र हुने संविधानसभा निर्वाचनले गर्ने निर्णय । प्रत्यक्ष निर्वाचन हुने निर्वाचन प्रणाली अन्तर्गत २४० निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीअन्तर्गत ३३५ सदस्य सङ्ख्या र प्रधानमन्त्रीबाट मनोनित हुने २६ सङ्ख्या किटान ।

पुस ११ः प्रधानसेनापति रुक्माङ्गत कटुवालले पटक पटक सैनिक ‘कु’, डेमोक्रेटिक ‘कु’ आदिको धम्की दिएपछि माओवादी अध्यक्ष प्रचण्डलेद्वारा नेपाल लेखक सङ्घद्वारा आयोजित साहित्यिक विचार गोष्ठीमा बोल्दै सैनिक ‘कु’ गरिए जनमुक्ति सेनाले विद्रोह गरी एके–४७ हतियार बोकेर लड्ने चेतावनी ।

पुस २१ः काभ्रे जिल्लाको नमोबुद्ध फुलबारी रिसोर्टमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु । पुस २७ः माओवादी, कांग्रेस र एमालेको बैठकद्वारा चैत २८ गते संविधानसभा निर्वाचन गर्ने निर्णय ।

२०६५ साल – वैशाख ३०ः राष्ट्राध्यक्षको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा जेठ १५ गते संविधानसभाको पहिलो बैठक आह्वान । जेठ १४ः संविधानसभा सदस्यद्वारा शपथग्रहण । जेठ १५ः ऐतिहासिक संविधानसभाको पहिलो बैठक, नेपाललाई औपचारिकरूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा । जेठ २९ः ज्ञानेन्द्रले नारायणहिटीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागार्जुन दरबार प्रस्थान ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal