चितवन । चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो ।
घटनामा भरतपुर महानगरपालिका वडा नं. ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीबाट कार्यालयका कागजात पनि जलेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्ता पर्साको ठोरी गाउँपालिकाका एक व्यक्तिको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुर बाघमोर्चा बस्ने ३५ वर्षीय प्रवीण पाख्रिनको मृत्यु भएको हो ।
ढुंगा प्रहारबाट घाइते पाख्रिनको वीरगञ्ज पानीट्याङ्की स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
गत जेठ ६ गते आपसी विवाद झगडामा परिणत हुँदा उनलाई केही व्यक्तिहरुले ढुंगाले हानेका थिए । उनलाई ढुंगाले हानेर घाइते बनाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ ।
‘आपसी झगडाका कारण भएको घटनामा ३÷४ जनाको संलग्नता रहेको भनिएको छ । फरार भएकाहरुको खोजीसँगै अनुसन्धान पनि अघि बढाएका छौं’ प्रवक्ता डीएसपी खनालले भने ।