आज :

यस्तो आयो भरतपुरमाको ताजा मतपरिणाम, कति हजार मतले पछि परे विजय ?

  • अनलाइन डबली

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता फराकिलो बन्दै गएको छ। हालसम्म गणना भएको ६९६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्।

उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी छन्। सुवेदीले २२०६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।

महानगरको वडानम्बर १३ को अन्तिम नतिजा आउको छ। यहाँ माओवादी केन्द्रका प्रकाश दवाडीले १५४७ मत पाएर विजयी भएका छन्। उनले नेकपा एमालेका शान्तराज आचार्यलाई हराएका हुन्। आचार्यले १२४३ मत पाएका थिए।

यस्तै वडा नम्बर १४ मा नेपाली कांग्रेसका राजेन्द्र खाँखी विजयी भएका छन्। उनले १९११ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण गुरूङले १५७७ मत पाए।

यो सँगै २९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ।

६ महानगरमध्ये विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भइसकेका छन्। अन्यमा मतगणना जारी छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार ८२ हजार ९२१ मतगणना हुँदा शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन्।

बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १६ हजार २ सय २४ मत प्राप्त गरेकी छन्।

यस्तै ललितपुर महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन्।

पछिल्लो मतगणना अनुसार महर्जन आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ९ हजार ६ सय ९६ मतले अगाडि छन्। महर्जनले २२ हजार ८ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रत्यासी बनेका हरिकृष्ण ब्यञ्जनकार १३ हजार १ सय २४ मत पाएका छन् ।

उपमेयरतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिएकी मन्जली शाक्य बज्राचार्यले १२ हजार ९ सय ४ मत पाएर आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रत्यासी बाबुराज बज्राचार्य भन्दा ३ हजार ७ सय २७ मतले अगाडि छिन्। माओवादी उम्मेदवार बज्राचार्यले ९ हजार १ सय ७७ मत प्राप्त गरेका छन्।

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २९ हजार ८०७ मत प्राप्त गरे।

उनलाई नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३७५ मतसहित पछ्याइरहेका छन्। राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ३१४५ मत पाउँदा स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेश)ले १९६६ मत पाएका छन्।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटले ३० हजार २ सय ६० मत पाउँदा एमालेका मञ्जुदेवी गुरूङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन्।

यस्तै विरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा नेता राजेशमान सिंहले हालसम्म २४ हजार ३१६ मत पाएका छन्।

उनलाई नेकपा एमाले-लोसपा गठबन्धनका विजय सरावगीले पछ्याइरहेका छन्। पूर्वमेयर समेत रहेका सरावगीले १२४८९ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवार गिरिश गिरीले १४८७ मत पाएका छन्।

यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले १७०७५ मतका साथ अग्रता कायम राखेका छन्। लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ३७७४ मत पाएका छन्।

उपमेयरमै राप्रपाका उम्मेदवार बिना जैसवालले २६३९ मत पाएकी छन्। ३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal