आज :

भरतपुर ताजा अपडेट- झन्डै ६१ हजार मत गन्दा यस्तो आयो मतपरिणाम, रेणु -विजयको मतान्तरसहित

  • अनलाइन डबली

चितवन । चितवनको भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो अपडेट अनुसार भरतपुर महानगरपालिकामा झन्डै ६१ हजार मत गणना भएको छ।

शुक्रबार साँझसम्म ६० हजार ९ सय २५ मत गनिसक्दा मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३४३२ मतको अग्रता लिएकी छन्। उनले २३ हजार १५४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १९ हजार ७२२ मत ल्याएका छन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत पाएका छन्।

उपमेयमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २५ हजार ३९२ मत पाएका छन् भने एमालेको समर्थन रहेकी राप्रपाकी हिमला गुरूङले १५ हजार ५३८ मत ल्याएकी छन्। मतगणना जारी छ।

यता मकवानपुरको हेटौंडामा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार बनेका दीपकबहादुर सिंहको अग्रता कायमै छ । मनोनयन दर्ता गर्ने दिनसम्म काठमाडौंमै थिए। उनी हतार-हतार हेटौंडा गए र उम्मेदवारी दर्ता गराए।

पार्टीभित्र र बाहिरको आग्रहपछि उनले उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासम्म उनका बारे धेरैलाई थाहा थिएन। राजा ज्ञानेन्द्रले २०६१ सालमा उनलाई जिविस सभापति मनोनित गरेका थिए। त्योबाहेक उनले अरू कुनै निर्वाचित पदमा काम गरेका थिएनन्।

मतगणना हुँदा भने उनले सत्ता गठबन्धनकी उम्मेदवार मीना लामा र एमालेका अनन्त पौडेललेलाई टक्कर दिए। कुनै बेला त उनले दुबैलाई उछिने पनि।

अन्तिम चरणमा पुगेको हेटौंडाको मेयरको मतगणनामा सिंहले अहिलेसम्म १९ हजार ३ सय ९३ मत पाएका छन्। एमाले उम्मेदवार पौडेलभन्दा उनी ५२० मतले पछि छन्।

उपमहानगरपालिकामा यसपालि राप्रपाका कुनै पनि उम्मेदवारले सिंहको जति मत पाएका छैनन्। हेटौंडामा सिंहले जित्ने सम्भावना त छैन तर उनले त्यहाँ आफ्नो बलियो उपस्थिति देखाएका छन्।

मकवानपुर कमल थापाको गृह जिल्ला हो। अहिले उनी राप्रपामा छैनन्। राप्रपाले हेटौंडामा मेयर र उपमेयर दुबैमा उम्मेदवारी दिएको थियो। मेयरमा सिंहले अरू प्रतिष्पर्धीलाई टक्कर दिने मत ल्याउँदा उपमेयर उम्मेदवार इन्दिरा न्यौपाने निकै पछि छन्।

राप्रपाका मेयर र उपमेयरले पाएको मत तुलना गर्दा थाहा हुन्छ सिंहले हेटौंडामा पाएको मत राप्रपाको संगठनको मात्रै होइन। सिंहले हेटौंडामा कांग्रेस र एमाले दुबै दलका परम्परागत मत आफूतिर तानेका छन्।

सत्ता गठबन्धनको तर्फबाट मेयर उठेकी लामाले भन्दा कांग्रेसबाट उपमेयर उम्मेदवार बनेका राजेश बानियाले झन्डै ८ हजार बढी मत ल्याएका छन्। उनले २९ हजार ३ सय २० मत ल्याएका छन्।

सत्तारूढ गठबन्धनका मेयर र उपमेयर उम्मेदवारको मतान्तरले भन्छ, कांग्रेसको उल्लेख्य मत सिंहलाई गएको छ। मत गणनामा रहेका नेकपा एकीकृत समाजवादीका एक प्रतिनिधिका अनुसार केही वडामा त ६ छाप रूखमा र मेयरको हलोमा गएको छ।

कांग्रेस मात्रै होइन एमालेका अनन्त पौडेललाई उम्मेदवार बनाएकोमा समेत एमाले कार्यकर्ता आक्रोशित थिए। त्यही आक्रोशको केही भोट सिहंलाई गएको देखिन्छ। मत गणनामा बसेका कांग्रेसका एक प्रतिनिधिका अनुसार ६ छाप सूर्यमा र एक मत हलोमा दिएको पनि आफूले प्रशस्त भेटेको दाबी गरे।

‘दीपक सिंह आफैं त्यत्रो भोट ल्याउन सक्ने प्रभाव भएका व्यक्ति होइनन्। तर सबैको आक्रोशको भोट उनले पाए,’ उनले भने,’एमाले र कांग्रेसका असन्तुष्टहरूको भोट सिंहलाई गयो। जसले गर्दा उनको मत यति धेरै आएको हो।’

मकवानपुरमा राप्रपाको संगठन पनि नभएको चाहिँ होइन। २०७४ को चुनावमा राप्रपा उम्मेदवार मधुकरप्रसाद अधिकारीले ६८५७ मत पाएका थिए। सिंहलाई राप्रपाको भोट पनि राम्रै आएको देखिन्छ। कमल थापाको गृह जिल्ला भए पनि उनको पार्टी राप्रपा नेपालले उम्मेदवारी नदिएकाले राप्रपाको भोट बाँडिन पाएन। त्यसले पनि सिंहको मत बढाउन सघायो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal