काठमाडौँ । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।
उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ ।
एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएपछि तनावको अवस्था सिर्जना गरिएको हो ।
‘एक नम्बरको मतगणनास्थलमा एउटै पदमा सूर्य र हलो देखियो त्यो बदर भयो । तर, १ ७ नम्बरको गणना स्थलमा रुख र हँसिया हथौडामा एउटै छाप देखियो त्यहाँ भने बदर भएन’, उनले भने, ‘बदर हुने र नहुनेमा दुई पक्षबीच चर्काचर्की हुन पुग्यो ।’
यसबारेमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीसँग राय लिइएपछि बदरको निर्णय सुनाएका थिए । त्यसपछि एमालेका प्रतिनिधिले ‘कर्मचारी बायस्ड र एकपक्षीय छ’ भन्ने आरोप लगाउँदै होहल्ला गर्न थालेका थिए ।
भरतपुर मा १६०३३ मतपत्र गणना सकिएको छ । जसअनुसार प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ५३५० मतका साथ अगाडि छिन् ।
उनले १८ मतको अग्रता लिएकी हुन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन्। यस्तै उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।
यता ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । ९ हजार ९८० मत गणना हुँदा महर्जनले ३ हजार ६०२ मतको अग्रता लिएका हुन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २ हजार १२७ मत पाएका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी आस्था शाक्यले २ हजार ५५२ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ८४८ मत पाएका छन् ।