काठमाडौं । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने सरकारको निर्णयविरुद्ध आज नेपाल बन्द आह्वान गरिएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णयसँगै पाँच दलीय मोर्चाले नेपाल बन्दको आह्वान गरेको हो ।
नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी, वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरिएको छ । उनीहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै आएका थिए ।
एमसीसी राष्ट्रघाती भएको र सत्ता गठबन्धन दलहरुले उक्त सम्झौता संसदबाट पारित गरी लागु गर्न खोजेको भन्दै विरोध जनाएका छन् । एमसीसी संसदमा नलिएर खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जबरजस्त भएपनि संसदमा एमसीसी लैजाने पक्षमा उभिएपछि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समर्थन नगर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय जनामोर्चालगायतका साना पार्टीले पनि एमसीसीको विरोध जनाउँदै आएका छन् ।
नेपाली काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै देशभर विरोध सुरु भएको छ ।
यसअघि रोकेपनि सरकारले निर्णय नै गरिसकेपछि टेबुल गर्नुपर्ने कानुनी बाध्यतामा सभामुख अग्नि सापकोटा रहेका छन् ।
यसैबीच नेपाल बन्दका कारण लामो र छोटो दूरीका सवारी साधान चलेका छैनन् भने जनजीवन विहानैबाट प्रभावित भएको छ । एमसीसी टेबुल गर्ने निर्णयविरुद्ध विरोधलाई रोक्न सरकारले राजधानी काठमाडौँसहित ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्रि प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।