
भक्तपुर । प्रहरीले भक्तपुरका विभिन्न स्थानमा आधुनिक ६४ वटा सिसिटिभी क्यामेरा जडान गरेकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार कार्यक्रम आयाेजना गरी भक्तपुरका विभिन्न क्षेत्रमा जडान गरिएका ६४ वटा आधुनिक सिसिटिभी क्यामेराको उद्घाटन गरेकाे छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले सिसिटिभी क्यामेरा जडानकाे उद्घाटन गर्दै सामाजिक शान्ति सुरक्षा र अमनचयन कामय राख्न सिसिटिभीले ठूलाे सहयाेग पुर्याउने बताए । उनले सिसिटिभी क्यामरा जडानमा सहयाेग गर्ने दाताहरू, जडान समितिका पदाधिकारीहरू, पूर्व प्रहरी उपरीक्षक ध्रुब रत्न हाडा तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान समेत गरेका थिए ।
कार्यक्रममा बाेल्दै पालले कुनै पनि घटनाको सफल अनुसन्धानका लागि सिसिटिभी क्यामेराले सहजता प्रदान गर्ने बताएका थिए ।
कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले समाजमा लगानी गरेको कुरा कुनै समयमा पनि नष्ट नहुने भएकाले सिसिटिभी जडानमा आर्थिक सहयोग पुर्याउने दाताहरूलाई धन्यवाद दिनुभयो । सिसिटिभीले अपराधीलाई निरुत्साहित बनाउन सहयोग पुग्ने धारणाा राखे ।
भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष प्रदिप श्रेष्ठले धन्यवाद ज्ञापन गरेकाे उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारा देवि थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
साथै, प्राईम कमर्सियल बैंक लिमिटेडका जनरल म्यानेजर संजिव मानन्धर, भक्तपुर जिल्ला पत्रकार महासंघका अध्यक्ष जगत प्रजापती, सिसिटिभी क्यामेरा जडान समितिका ईन्जिनियर मेनसन लाखेमरू, जडान समितिका कोषाध्यक्ष नविन प्रजापतिलगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।