काठमाडौं । म्यान्मारमा हजारौं नागरिक सडकमा निस्किएका छन् । सैन्य कू विरोधमा अहिलेसम्मकै धेरै नागरिक विरोधमा उत्रिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन भएसँगै सैनिक सरकारले इन्टरनेट सेवा बन्द गरिदिएको छ ।
म्यानमारमा भएको विरोध प्रदर्शनमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुन सक्ने भएपछि सेनाले इन्टरनेट सेवा बन्द गरेको हो । विरोध र्यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको थियो । गत फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो । यसअघि नै फेसबुकमा प्रतिबन्ध लगाइकेको छ ।
र्याली भइरहँदा नगरबसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए ।
देशको मुख्य सहर यांगुनमा आयोजित र्यालीमा सहभागिहरुले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका नेत्री आङ सान सू ची र अन्य नेताको रिहाइको माग गरेका छन् ।
गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले धांधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो ।