भालुवाङ । छिमेकीको कुखुरा चाेरेकाे अाराेप लगाएर दाङको देउखुरीमा एक १७ वर्षीय युवा नरेश चौधरीले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
दाङको पूर्वी देउखुरी मसुरिया नयाँबस्ती ( राप्ती प्राविधिक शिक्षालयकाे पछाडि ) बस्ने चौधरीको उनकै छिमेकी खलबहादुर घर्तीमगर र नीजका छाेरा ओमप्रकाशकाे पिटाइबाट नरेशकाे ज्यान गएको परिवार तथा छिमेकीहरु बताउँछन् ।
बिहीबार राति करिब ८ बजेतिर खलबहादुरकै घरको आँगनमा घर्ती बाबुछोराले नरेश चौधरीलाई मरणासन्न हुनेगरि पिटेका थिए । कुटाइबाट बेहोस भएका नरेशको शुक्रबार बिहान निधन भएको परिवारले जनाएका छन् । पिटाइ हेर्दा सामान्यजस्तो लागेकाले तत्काल नरेशलाई उपचारका लागि लैजाने र प्रहरीलाई खबर गरिएको थिएन ।
पिट्ने घर्तीमगर र पिटाइ खाने मृतक नरेशकाे घर टेक्निकल स्कूलकाे पछाडिकाे एकै गल्लीबाट करिब ४० मिटरको फरक दूरीमा पर्दछन् ।नरेशलाई पिट्ने बाबुचाहिँ खलबहादुर उमेरमा ६० वसन्त पार गरिसकेका र लामो समयदेखि पक्षाघातको बिरामी भएकोले लहुरोको सहाराले हिड्डुल गर्दछन् ।
मृतकका परिवारमा दुई भाइमध्येमा नरेश कान्छो हुन् । उनी घर बनाउने मजदूरको रूपमा काम गर्ने गर्दथे । घटनाको दिन नरेशले आफूले घर बनाउने ठाउँबाट मासु ल्याएको बताइएको छ । घरमै मासु भएकोले कुखुरा चोर्न नगएको नरेशका परिवारले बताएका छन ।
मृतक नरेशका बाबुको यसअघि निधन भएको, दाजुभाउजु सामान्य रुपमा घरको खेतीपातीकाे काम गर्छन् । घरमा बुढी आमा छन् । आफ्नो छोराको कुनै गल्ती नभएको तर कुटिकुटी मारेको नरेशकी आमाले बताइन् ।
नरेशलाई कुटिकुटी मारेको अभियोगमा खलबहादुर र उनका छोरा ओमप्रकाशलाई इलाका प्रहरी कार्यालय, भालुवाङ्गबाट खटिएर गएको टाेलीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको इप्रका भालुवाङ्गका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिए ।