काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा फेरि पहिरो गएको छ । बाह्रबिसे नगरपालिका वडा नं ७ नागपुजे र भिरखर्कमा गएराति पहिरो जाँदा एक जनाको ज्यान गएको भने २३ जना हराइरहेका छन् ।
नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोले भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरिएका छन् । पहिरोमा परी भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना हराएको शेर्पाले बताए । यो प्रारम्भिक विवरण भएकोले थप क्षति भएको हुन सक्ने बताइएको छ । अहिले प्रहरीको टोली र स्थानीयले उद्दार कार्य सुरु गरेका छन् ।
अविरल वर्षासँगै गएराति पहिरो आएको थियो । सुरुपमा १२ जना मात्रै पहिरोमा हराएको भनिएपनि पछि अरु पनि सम्पर्कमा नआएको बताइएको छ । वर्षाका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
यसअघि सिन्धुपाल्चोकमा गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको ज्यान गएको छ भने दुईजना अझै भेटिएका छैनन् ।
यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ गएका छन् । सापकोटा स्थलमार्गबाट विहानै सिन्धुपाल्चोकको बाह्रबिसेको प्रस्थान गरेका छन् ।