काठमाडौँ । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा ४ लाख बढी दर्शकले हेरेका छन् ।
बक्सअफिस स्रोतका अनुसार फिल्मले कात्तिक २६ गतेसम्म नेपालमा १६ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिमा फिल्मका लागि ४ लाख ६ हजार टिकेट बिक्री भएको छ । फिल्मले एक दिनमै २ करोड ४८ लाख रुपैयाँसम्म ग्रस कलेक्सन गरेको स्रोतको दाबी छ । फिल्मलाई उपलब्ध गराईएको शो सङ्ख्या र दर्शकको अकुपेन्सी हेर्दा यसले आज शुक्रबार पनि एक करोड माथिको ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ ।
नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् । निर्माता नमित मल्होत्राले भारतीय पौराणिक कथालाई विश्वव्यापी दर्शकमाझ पु¥याउने उद्देश्यसहित फिल्म निर्माण गरेका हुन् ।
भारतीय महाकाव्य रामायणको कथा एउटै फिल्ममा समेट्न सम्भव नहुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।
पहिलो भागको आधिकारिक शीर्षक ‘रामायण ः राइज अफ अ लेजेन्ड’ राखिएको छ । यसरी दुई भागमा निर्माण गर्नुको उद्देश्य कथाका महत्त्वपूर्ण घटना, सम्बन्ध र युद्धलाई विस्तृत रूपमा प्रस्तुत गर्नु हो । पहिलो भागमा रामको जीवन, वनवास, सीता हरण र राम–रावणबीचको द्वन्द्वको पृष्ठभूमि समेटिएको छ । दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरिएको थियो ।


अनलाइन डबली




