काठमाडौं । आगामी कार्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक गरिएको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ। सशी शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा इभा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ।
क्यासिनोमा नाच्ने एक युवतीले आफूलाई असल युवक चाहिएको भाव व्यक्त गरेको प्रसंगलाई गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा इभा गिरीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले पनि अभिनय तथा नृत्य गरेका छन्।
बसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारको पनि अभिनय रहेको छ।
फिल्मको नयाँ गीत सार्वजनिक भएसँगै यसको प्रदर्शनप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ।


अनलाइन डबली



