काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् ।
प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् ।
‘आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ । एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम हो ।’
एनपिएलको तेस्रो संस्करण आजबाट त्रिवि मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन् । एक महिनासम्म चल्ने प्रतियोगितामा नेपाली र चर्चित विदेशी खेलाडीहरूको जमघट हुनेछ ।
मन्त्री गौतमले एनपिएल नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्व स्तरीय खेलाडीसँग एउटै मैदानमा उभ्याउने सपनाको उडान भएको पनि बताएकी छिन् ।
‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्व स्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ ।’
मन्त्री गौतमले सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपिएल बनेको बताइन् ।
उनले सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई शुभकामना दिँदै जुन टिमले प्रतियोगिता जिते पनि जित नेपाली क्रिकेटकै हुने धारणा व्यक्त गरेकी छिन् ।


अनलाइन डबली

