आज :

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

  • अनलाइन डबली

काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।

मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

‘मैले अध्ययन गरिरहेका मौसम पूर्वानुमानले आगामी अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने संकेत गरेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसको अर्थ एकै दिनमा त्यति धेरै वर्षा हुन्छ भन्ने होइन । वास्तविक वर्षाको मात्रा, समय र प्रभावित क्षेत्र अझै परिवर्तन हुन सक्छन् ।’

२०० मिलिमिटर वर्षाको प्रभाव कस्तो हुन्छ भन्ने विषय वर्षा हुने समय, स्थान र त्यहाँको मौसमी अवस्थामाथि निर्भर रहने पोखरेलले स्पष्ट पारेका छन् ।

‘मनसुनको समयमा पनि छोटो अवधिमा यति धेरै वर्षा हुनु जोखिमपूर्ण हुन्छ । अहिले धान काट्ने समय हो भने हिमाली क्षेत्रमा धेरै मानिस यात्रा गर्ने अवधि पनि हो । त्यसैले यसको असर अझ गम्भीर हुन सक्छ,’ उनले चेतावनी दिएका छन् ।

‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिम बढ्न सक्छ,’ उनले थप लेखेका छन्, ‘मौसमसम्बन्धी पछिल्ला जानकारी र आधिकारिक सूचनाहरू जाँच गरेर मात्रै यात्राको योजना बनाउनुहोस् ।’

मौसमविद् पोखरेलले अहिले विकसित भइरहेको मौसमी प्रणाली सन् २०१४ अक्टोबर १४ मा आएको हिमआँधीको अवस्था सम्झाउने खालको रहेको पनि उल्लेख गरेका छन् ।

‘चक्रवातसँग सम्बन्धित उक्त घटनामा अन्नपूर्ण आसपासका पदयात्रा क्षेत्रसहित ४३ जनाले ज्यान गुमाएका थिए । अहिलेको पूर्वानुमानमा त्यसबेला देखिएका केही मौसमी सूचकसँग मिल्दोजुल्दो अवस्था देखिएको छ,’ उनले भनेका छन्, ‘तर यसको अर्थ यसपटक पनि त्यस्तै परिणाम आउँछ भन्ने होइन । आशा छ, यसपटक हामीले समयमै सतर्कता अपनाएर अझ राम्रो तयारी गर्न सक्नेछौँ ।’

बंगालको खाडीबाट विकसित हुने न्यून चापीय प्रणाली नेपालतर्फ नजिकिएर माथिल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीसँग अन्तरक्रिया गरेमा भारी वर्षाको सम्भावना बढ्ने उनले बताएका छन् ।

बंगालको खाडीमा विकसित भइरहेको मौसमी अवस्थासँगै नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली पनि विकसित हुन थालेको छ ।

शुक्रबार बिहान ५ः४५ बजे बंगालको खाडीको पूर्वमध्य भाग तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको थियो ।

नेपालको जल तथा मौसम विज्ञान विभागले उक्त न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली हुँदै सोमबारसम्म चक्रवाती आँधीमा विकसित हुने सम्भावना रहेको जनाएको छ ।

चक्रवाती आँधीमा विकसित भएपछि यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिशाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

विभागका अनुसार उक्त मौसमी प्रणालीले आगामी बुधबार (अक्टोबर २८) देखि आइतबार (नोभेम्बर १)सम्म नेपालमा प्रभाव पार्न सक्नेछ ।

‘यद्यपि, यो प्रणालीका कारण नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र कस्तो प्रभाव पर्न सक्छ भन्ने कुरा अहिले नै निश्चित रूपमा आकलन गर्न सकिने अवस्था छैन,’ विभागले जनाएको छ, ‘तर सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सतर्क रहन अनुरोध गरिन्छ ।’

विभागले आगामी एक सातामा देशका विभिन्न भागमा अधिकतम तथा न्यूनतम तापक्रममा समेत सामान्य गिरावट आउने पूर्वानुमान गरेको एएनआई आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal