आज :

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

  • अनलाइन डबली

हेमन्त केसी

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ ।

चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्थामा फेला पारेको हो । उद्धार गरिएका पशुलाई तुम्लिङमा सुरक्षित रूपमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

२७ दिनसम्म घाँस नखाई बाँचे

गत असोज १० र ११ गते भएको भारी हिमपातपछि ग्याउ खोला र लिङ खोलाका पाटनमा चरिरहेका तीन सयभन्दा बढी पशु बेपत्ता भएका थिए ।

लामो समयसम्म पशु फेला नपरेपछि स्थानीयवासीले तिनलाई जीवितै भेट्ने आशासमेत कम गरिसकेका थिए । तर, खोजीमा गएको टोलीले साँक्या खोलामा पशुहरू जीवितै फेला पारेपछि स्थानीयवासी खुसी भएका छन् ।

वडाध्यक्ष तामाङका अनुसार पशुको खोजीका लागि चारवटा समूह बनाएर टोली परिचालन गरिएको थियो । खोजीका क्रममा ३०७ पशु सकुशल फेला परेपछि उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको उनले बताए ।

‘२७ दिनसम्म घाँस नखाएर पनि पशुहरू बाँच्न सफल भएछन् । जीवितै भेटिने आशा कम भइसकेको अवस्थामा पशुहरू फेला परेपछि हामी खुसी भएका छौँ,’ उनले भने ।

उद्धार गरिएका पशुमध्ये ५० वटा घोडा, २० वटा झोपा र २३७ वटा चौँरीगाई रहेका छन् । लामो समयसम्म हिउँमा फसेका घोडाले आफ्नो पुच्छर आफैँ खाएको अवस्थामा भेटिएको वडाध्यक्ष तामाङले बताए । उद्धार गरिएका कुनै पनि घोडाको पुच्छर बाँकी नरहेको उनको भनाइ छ ।

पशुको खोजीका लागि चारवटा समूह परिचालन गरिएकामा तीनवटा समूह अझै खोजीमै रहेको उनले जानकारी दिए । बाँकी समूहले खोजी जारी राखेकाले थप पशु फेला पर्न सक्ने अपेक्षा गरिएको छ ।

भारी हिमपातका कारण उच्च पाटनमा चरिरहेका पशु बेपत्ता भएपछि स्थानीयवासी चिन्तित बनेका थिए । ठूलो संख्यामा पशु हराएपछि नाम्खा गाउँपालिकाले खोजी कार्यलाई सहज बनाउन ताक्चीदेखि ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेन्डर आह्वान गरेको थियो ।

सडकमा जमेको हिउँ पन्छाएपछि बेपत्ता पशुको खोजीमा सहज भएको हो । लामो समयसम्म हिउँमा फसेका पशु जीवितै भेटिएपछि लिमीवासीले राहत महसुस गरेका छन् । हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पशुचौपाया जोखिममा पर्ने समस्या फेरि एकपटक उजागर भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal