आज :

कांग्रेसमा त्यागी तथा बौद्धिक नेता विजय सम्बाहाम्फेको उम्मेदवारी

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा त्यागी तथा बौद्धिक नेताका रूपमा परिचित विजय सम्बाहाम्फेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। सम्बाहाम्फेले आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘नेपाली कांग्रेसको आस्था र प्रतिष्ठालाई युगसापेक्ष उचाइमा पुर्‍याऔँ, त्यागी तथा बौद्धिक नेता विजय सम्बाहाम्फेलाई जिताऔँ’ भन्ने मूल नारासहित उनले आफ्नो उम्मेदवारी अघि सारेका छन् ।

नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहेका सम्बाहाम्फेले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर इमानदार, प्रभावकारी र सफल भूमिका निर्वाह गर्दै आएका छन्। संगठन निर्माण, नीति तथा बौद्धिक बहस, शिक्षा र सामाजिक क्षेत्रमा उनको सक्रिय योगदान रहेको कांग्रेसका नेता तथा कार्यकर्ताहरू बताउँछन् ।

पार्टीभित्र सफल व्यवसायीका रूपमा समेत परिचित सम्बाहाम्फेले शिक्षा, पर्यटन, कृषि, जलविद्युत् तथा बैंकिङ र वित्तीय क्षेत्रमा लगानी गरेका छन्। उनका विभिन्न व्यवसाय तथा लगानीमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना हुनुका साथै सयौँ परिवारलाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताइएको छ। व्यवसायसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत निरन्तर सक्रिय रहँदै आएका सम्बाहाम्फेले नेपाली कांग्रेसमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका छन् ।

सम्बाहाम्फेले तेह्रथुम जिल्ला कार्यसमितिको कोषाध्यक्षबाट आफ्नो सांगठनिक जिम्मेवारीलाई अघि बढाउँदै नेपाली कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य, पेशागत तथा बुद्धिजीवी विभागको सचिवलगायतका जिम्मेवारी सम्हालेका छन् । यस अघि पार्टीमा उनी महासमिति सदस्य थिए भने हालै तेर्हथुम जिल्लाबाट महाधिवेशन निर्वाचित भएका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा तेह्रथुम ‘ख’ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सम्बाहाम्फे थोरै मतान्तरले पराजित भएका थिए । निर्वाचनमा पराजित भए पनि त्यसपछि पनि उनले पार्टी संगठन, नीति निर्माण र सामाजिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर कायम राखेका छन् ।

कांग्रेसका अग्रज नेतादेखि सभापति गगन थापासम्म विभिन्न तहका नेताहरूसँग सम्बाहाम्फेको सौहार्दपूर्ण सम्बन्ध रहेको कांग्रेसका नेताहरू बताउँछन् । यही कारण पनि उनको उम्मेदवारीलाई पार्टीभित्र अनुभव, समन्वय र बौद्धिक क्षमताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

आदिवासी जनजाति क्लस्टरबाट सम्बाहाम्फेको उम्मेदवारी घोषणाले पार्टीभित्रका आदिवासी जनजाति कार्यकर्तामा उत्साह थपिएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भागीमान गुरुङले बताए ।

गुरुङका अनुसार सम्बाहाम्फेको लामो राजनीतिक अनुभव, बौद्धिक क्षमता र विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धिले पार्टीमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

‘विजय सरको उम्मेदवारी घोषणाले सिंगो आदिवासी समुदायमा उत्साह पैदा भएको छ। उहाँको भूमिका र अनुभवले नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउन थप योगदान पुग्ने विश्वास लिएका छौँ,’ गुरुङले भने ।

सम्बाहाम्फे शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा समेत परिचित छन्। निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको केन्द्रीय अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका उनले शिक्षा क्षेत्रमा सुधार र रूपान्तरणका लागि विभिन्न नीतिगत अवधारणा तथा योजनामा काम गरेका थिए ।

उनले विकसित मुलुकहरूको शिक्षा प्रणाली, नीति तथा अभ्यासको अध्ययनसमेत गरेका छन् । विभिन्न विकसित देशको शिक्षा नीतिको गहिरो अध्ययन गरेका सम्बाहाम्फेको अनुभव र क्षमतालाई मूल्यांकन गर्दै सरकारले उनलाई राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्यको जिम्मेवारीसमेत दिएको थियो ।
शिक्षा, राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा उपयोग गर्ने सम्बाहाम्फेको लक्ष्य रहेको बताइएको छ ।

आफ्नो उम्मेदवारीलाई सार्थक बनाउन सम्बाहाम्फेले अहिले मेचीदेखि महाकालीसम्मका कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट तथा परामर्श गरिरहेका छन् । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसलाई समयअनुकूल, विचारप्रधान र जनमुखी पार्टीका रूपमा अघि बढाउन आफ्नो उम्मेदवारी रहेको उनले बताउँदै आएका छन् ।

उनले पार्टीको आस्था, प्रतिष्ठा र लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ बलियो बनाउँदै नयाँ पुस्ता, आदिवासी जनजाति, पेशागत तथा बौद्धिक समुदायलाई पार्टीको मूलधारमा थप प्रभावकारी रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बाहाम्फेले आफ्नो उम्मेदवारीका सम्बन्धमा नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । यही क्रममा असोज १८ गते सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिएको उनको सचिवालयले जनाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूह, समुदाय र क्लस्टरबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा हुने क्रम तीव्र बनेको छ । यसैबीच आदिवासी जनजाति क्लस्टरबाट सम्बाहाम्फेको उम्मेदवारीलाई पार्टीभित्र लामो राजनीतिक अनुभव, बौद्धिक क्षमता, सामाजिक योगदान र व्यवसायिक पृष्ठभूमिको संयोजनका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal