आज :

ट्रम्प–सी भेटवार्ताको अन्तर्य : वार्ताको टेबुलमा सौहार्द, रणनीतिक मुद्दामा उस्तै टकराव

  • अनलाइन डबली

काठमाडौं । विश्वका प्रमुख दुई शक्ति राष्ट्रका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सेप्टेम्बर २३ देखि २५ सम्म वासिङ्टन डिसीमा भएको शिखर भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा ठूलो परिवर्तनको संकेत दिन सकेन ।

दुई देशबीच संवाद कायम राख्ने प्रतिबद्धता देखिए पनि व्यापार, ताइवान, सुरक्षा र रणनीतिक प्रतिस्पर्धाका मूल विषयमा उल्लेख्य सहमति हुन सकेन । विश्लेषकहरूले वार्तालाई कम्तीमा दुई देशबीच संवाद जारी राख्ने अवसरका रूपमा हेरेका छन् । तर, उनीहरूका अनुसार दुवै पक्षसँग सम्झौता गर्ने पर्याप्त राजनीतिक तथा रणनीतिक ठाउँ नरहेकोले विवादित विषयहरू तत्काल समाधान हुनुको सट्टा भविष्यतर्फ धकेलिएका छन् ।

विशेषगरी ताइवानको विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पको धारणा र अमेरिकी राजदूत डेभिड पड्र्यूको भनाइबीच देखिएको अन्तरले पनि चासो बढाएको छ । पड्र्यूले ट्रम्पले चीनलाई हतियार बिक्री गर्ने प्रस्तावसमेत गरेको बताएका थिए । अमेरिकाको प्रमुख रणनीतिक प्रतिस्पर्धी मानिएको चीनलाई सैन्य उपकरण बिक्रीको प्रस्ताव गरिएको विषयलाई लिएर अमेरिकाभित्रै प्रश्न उठेको विश्लेषण एएनआईले गरेको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनको जोन एल थोरन्टन चाइना सेन्टरका निर्देशक रायन हासले ट्रम्पले चीनलाई सुरक्षा चुनौतीका रूपमा हेर्छन् कि हेर्दैनन् भन्ने प्रश्नमा पड्र्यूको भनाइले थप स्पष्टता ल्याएको टिप्पणी गरेका छन् ।

यसैबीच, ट्रम्प प्रशासनले ताइवानलाई हुने ठूलो हतियार बिक्रीलाई चीनसँगको वार्तामा सौदाबाजीको विषयका रूपमा प्रयोग गरिरहेको विश्लेषण पनि गरिएको छ । सिंगापुरस्थित एस राजारत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ फेलो ड्र थम्प्सनका अनुसार ट्रम्पका कतिपय सार्वजनिक अभिव्यक्तिले ताइवान र अमेरिकी साझेदारलाई असहज बनाउन सक्ने भए पनि ताइवानप्रतिको अमेरिकी सुरक्षा प्रतिबद्धताको दीर्घकालीन दिशामा त्यसले तत्काल परिवर्तन ल्याउने सम्भावना कम छ ।

चीन र अमेरिकाले शिखर वार्तापछि जारी गरेका छुट्टाछुट्टै विवरणले पनि दुवै देशका प्राथमिकतामा रहेको भिन्नता देखाएको छ । चीनले वार्ताबाट आठवटा उपलब्धि तथा समझदारी भएको जनाएको छ । त्यसमा पारस्परिक सम्मान, समानता र पारस्परिकताका आधारमा रणनीतिक स्थायित्वसहितको रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने विषय समेटिएको छ ।

दुवै पक्षले एपीईसी र जी२० सम्मेलनमा एकअर्कालाई सहयोग गर्ने, इरानलाई आणविक हतियार विकास गर्न नदिने, होर्मुज जलडमरूमध्यमा अवरोध तथा शुल्क नलगाउने, व्यापार तथा आर्थिक संवादलाई निरन्तरता दिने र लागूऔषध नियन्त्रणमा सहकार्य बढाउने विषयमा पनि उल्लेख गरेका छन् ।

त्यस्तै, कृत्रिम बौद्धिकता (एआई) बाट उत्पन्न जोखिम र फाइदाबारे छलफल गर्न चीन–अमेरिका संवाद संयन्त्र स्थापना गर्ने तथा एआईसम्बन्धी घटनामा द्विपक्षीय सञ्चार माध्यम बनाउने सहमति भएको चिनियाँ पक्षले जनाएको छ । अमेरिकाको एटलान्टा चिडियाखानामा दुईवटा पान्डा पठाउने विषयलाई समेत चीनले उपलब्धिका रूपमा उल्लेख गरेको छ ।

तर, चीनले उल्लेख गरेको सैन्य संकट सञ्चार संयन्त्रका विषयमा भने अमेरिकी पक्षको विवरणमा स्पष्ट उल्लेख नभएको एएनआईले जनाएको छ । अमेरिकी पक्षले दुई देशका सेनाबीच यस्तो सञ्चार संयन्त्रबारे शिखर वार्तामा छलफल नै नभएको बताएको थियो ।

अमेरिकी पक्षले भने इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिले स्वतन्त्र तथा खुला क्षेत्र कायम गर्न योगदान पु¥याउने विषयलाई प्राथमिकताका साथ उल्लेख गरेको छ । साथै अमेरिका, रुस र चीनबीच त्रिपक्षीय आणविक हतियार नियन्त्रण वार्ताको प्रस्ताव पनि अमेरिकी विवरणमा समेटिएको छ । चीनको विवरणमा भने यी विषय समेटिएका छैनन् ।

थम्प्सनका अनुसार ट्रम्प–सी भेटवार्ताबाट तत्काल ठूला उपलब्धि हासिल हुने अपेक्षा गर्नु उचित थिएन । उनका अनुसार शिखर सम्मेलन विस्तृत वार्ता गर्ने स्थानभन्दा पनि दुई नेताले आफ्ना रणनीतिक धारणा प्रस्तुत गर्ने र आगामी वार्ताका लागि राजनीतिक वातावरण तयार गर्ने अवसर हो ।

उनका अनुसार ट्रम्प र सीबीचको भेटवार्ताअघि अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङबीच भएको वार्ताले भने व्यापार क्षेत्रमा तुलनात्मक रूपमा ठोस परिणाम दिएको थियो । उक्त वार्ताबाट व्यापार युद्धविरामलाई जनवरी २०२७ सम्म तीन महिनाका लागि थप गर्ने सहमति भएको बताइएको छ ।्

भेटवार्ताका क्रममा दुई नेताबीच औपचारिक कूटनीतिक व्यवहार र सौहार्दपूर्ण वातावरण देखिएको थियो । ट्रम्पले सी र उनकी पत्नी पेङ लियुआनलाई रेड कार्पेटसहित स्वागत गरेका थिए । ट्रम्पले चीनको ऐतिहासिक स्मृतिसँग जोडिएका केही दस्तावेजसमेत सीलाई देखाएका थिए ।

यद्यपि, वार्तामा रणनीतिक मतभेद भने कायमै रहेको विश्लेषकहरूको भनाइ छ । थम्प्सनका अनुसार दुवै पक्षले आफ्ना धारणा अर्को पक्षसमक्ष स्पष्ट रूपमा राखे पनि दीर्घकालीन विवादका विषयमा कुनै पक्षले आफ्नो अडानमा उल्लेख्य परिवर्तन गरेको संकेत देखिएको छैन ।

अमेरिका–चीन सम्बन्धको मूल समस्या दुई देशबीचको रणनीतिक प्रतिस्पर्धा रहेको विश्लेषण गरिएको छ । थम्प्सनका अनुसार चिनियाँ नेतृत्व अमेरिकालाई आफ्नो कम्युनिस्ट पार्टी र राजनीतिक प्रणालीका लागि दीर्घकालीन चुनौतीका रूपमा हेर्छ । चीनले अमेरिका–चीन सम्बन्धलाई सहकार्यभन्दा प्रतिस्पर्धाको दृष्टिले हेर्ने गरेको उनको भनाइ छ ।

अमेरिकाका पूर्व विदेश मन्त्रालयका दुई सचिवका सल्लाहकार इभान ए फेगेनबमले पनि चीन र अमेरिकाको चाहनाबीच साझा क्षेत्र पछिल्लो समय साँघुरिँदै गएको बताएका छन् । उनका अनुसार दुई देशबीच उच्चस्तरीय शिखर वार्ता लगातार भइरहे पनि सरकारको तहमा मापन गर्न सकिने ठोस सहकार्य अपेक्षाअनुसार विस्तार हुन सकेको छैन ।

तर थम्प्सनले ट्रम्प र सीबीचको भेटलाई कम्तीमा सम्मानजनक तथा सौहार्दपूर्ण गतिरोधका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यस्तो स्थायित्वले आगामी वर्षसम्म दुई देशबीचका मतभेदलाई थप बिग्रिन नदिने वातावरण बनाउन सक्छ र कठिन विषयमा तल्लो तहमा वार्ता अघि बढाउने अवसर दिन सक्छ ।

यससँगै अमेरिका–चीन सम्बन्धमा तत्काल ठूलो परिवर्तनभन्दा पनि प्रतिस्पर्धा र संवाद सँगसँगै अघि बढ्ने अवस्था कायम रहने संकेत देखिएको छ । व्यापार, ताइवान, सैन्य सुरक्षा, एआई तथा आणविक हतियार नियन्त्रणजस्ता विषयमा आगामी महिनामा हुने कार्यगत तहका वार्ताले दुई देशबीचको सम्बन्धको दिशा निर्धा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal