आज :

मोरङमा पक्राउ परेका विश्लेषक दाहाललाई काठमाडौं पठाइँदै

  • अनलाइन डबली

विराटनगर । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् ।

मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरिएको हो ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साइबर ब्युरोको आग्रहमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार दाहाललाई आवश्यक अनुसन्धानका लागि आइतबार नै जहाजमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ ।

‘दिउँसो २ बजे जहाजमार्फत काठमाडौं पठाउने तयारी छ,’ प्रहरी उपरीक्षक कटवालले भने ।

उनका अनुसार दाहालविरुद्ध मोरङमा भने कुनै उजुरी परेको छैन । काठमाडौं पठाइएपछि साइबर ब्युरोले उनीमाथिको अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर्वी नेपाल आएका थिए । शनिबारको छलफल सकेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय दाहालले सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए । उनले विशेषगरी बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका विषयमा आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए ।

दाहालका सहकर्मीहरूले भने उनको पक्राउलाई राजनीतिक विचार तथा सत्ता र शासन व्यवस्थामाथि प्रश्न उठाउँदै आएको आवाजमाथिको धरपकडका रूपमा व्याख्या गरेका छन् । उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाएका छन् ।

प्रहरीले भने दाहाललाई कुन अभिव्यक्ति वा कसुरसँग सम्बन्धित उजुरीका आधारमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन । दाहालमाथिको अनुसन्धान अघि बढेपछि घटनाको थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal