काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको बताए। तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उनको भनाइ छ।
उनले भने, ‘यो संकटको घडीमा सरकारको साथमा थियौं, छौं पनि। मैले बाढी आएको दिनको प्रधानमन्त्री, गृहमन्त्रीको सक्रियता हेरेको थिएँ। त्यो देखेपछि उहाँहरू निकै सक्रिय हुनुहुन्छ, राम्रो पहल हुन्छ भन्ने विश्वास छ भनेको थिएँ।’
प्रचण्डले नेपाली सेनाले जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेले पनि विपद्को सामना गर्न सबै तहका सरकार र आम नागरिकलाई विश्वासमा लिएर व्यापक परिचालन गर्न नसकिएको बताए।
उनले भने, ‘सेनाले गरेको काम पनि देखियो। सेनाले धेरै जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो। तर यो महाविपत्तिको सामना गर्न सबै तहको सरकार, आम जनतालाई विश्वासमा लिएर जसरी परिचालन गर्नुपथ्र्यो, त्यो भएन। सेना परिचालन भयो, जनपरिचालन भएन। सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने यो समस्याको समाधान कठिन हुन्छ।’
सरकारको सुरुवाती सक्रियता र पछिल्ला दिनको कार्यशैलीमा फरक देखिएको भन्दै प्रचण्डले उद्धार कार्यप्रति जनस्तरमा व्यापक असन्तुष्टि रहेको बताए।
‘सरकार सुरुको दिनको तदारुकता र पछिल्लो दिनको उसको कार्यशैली, काम गराइमा फरक देखियो। सरकार उद्धार कार्यमा असफल भयो भन्ने सबैभन्दा बढी जनगुनासो सुनिएको छ। लुकाएर, ढाँटेर हुँदैन। सरकार उद्धार र जनपरिचालनमा असफल भयो,’ उनले भने।
विशेषगरी उद्धारका लागि तत्काल लिनुपर्ने पहलमा ढिलाइ भएको र सुरुका दुई दिनसम्म सरकार आफैंले सबै गर्न सक्ने मनोवृत्ति देखाएको जनगुनासो रहेको उनले बताए।
प्रचण्डले राजनीतिक दल र नेताहरूले एकअर्काले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हामी राजनीतिज्ञहरू सामान्यतः अरूले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने आँट, हैसियत र संस्कार हाम्रो हराउँदै गएको छ। आफूले गरेको नराम्रो पनि राम्रै हो भनेर प्रचार गर्ने तिर्खा अलि बढी लाग्ने गरेको छ।’
भोटेकोशीमा आएको विपत्तिले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमलाई थप पुष्टि गरेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय मञ्चमा ‘क्लाइमेट जस्टिस’को विषय उठाउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए।
‘भोटेकोशीमा आएको त्यो भयानक प्रलय मेरो दृष्टिमा हिजो गरेको अध्ययन अनुसन्धान, वैज्ञानिकहरूको निष्कर्ष र मैले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेका अपिललाई राम्रैसँग प्रमाणित गरेको छ। सबै अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको कुरा उठाउनुपर्छ र चाँडो अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएर यहाँ सहयोग नल्याउने हो भने नेपाल एक्लैले यो संकटको सामना गर्न सक्दैन,’ प्रचण्डले भने।
प्रधानमन्त्री प्रतिनिधिसभामा आएर सांसदहरूसँग संवाद नगरी फर्किएकोप्रति पनि उनले असन्तुष्टि जनाए।
‘प्रधानमन्त्री आउनुहुन्छ, सदनमा कसैको अनुहार पनि नहेरी जानुहुन्छ। यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। तपाईंलाई सहयोग गर्छौं सबैले भनेका छौं, तर पनि कसैको अनुहार नै नहेर्ने के तरिका हो? सबैको विश्वास जित्न खोज्नुभएन भने समयले पनि उहाँलाई नपर्खिन सक्छ,’ उनले भने।


अनलाइन डबली

