आज :

चीनले डीएनए पहिचान विज्ञहरु नेपाल पठाउँदै, युद्धस्तरमा केरुङ जोड्ने सडक पुनःनिर्माण गर्दै

  • अनलाइन डबली

काठमाडौँ । चीनले बाढीबाट ज्यान गुमाउनेको पहिचानमा सहयोग गर्ने भएको छ । चीन सरकारले रसुवा बाढीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानको लागि डीएनए पहिचान विज्ञहरु पठाएर सहयोग गर्न लागेको हो ।

राहत सामाग्रीसहित सुरुङ उद्दार विज्ञ टोली पठाईसकेको चीनले डीएनए पहिचान विज्ञहरु पठाउने लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जानकारी दिए ।

नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार उनले विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरु, ड्रोन जलशुद्धीकरण उपकरण समेत पठाउन लागेको जानकारी समेत दिए ।

नेपाल सरकारले शवका पहिचान गर्न नसकेपछि जमिनमा गाड्न लागेपछि पीडितहरुले विरोध जनाइरहेको बेला चीनबाट विज्ञ टोली आउन लागेको हो ।

उता बाढीले चीनतर्फ पनि ठूलो जनधनको क्षति पुर्याएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार केरुङ क्षेत्रमा १६ जनाले ज्यान गुमाएका छन् भने ५४६ जना अझैं सम्पर्कविहीन रहेको सरकारी अधिकारीलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनले खोज उद्दारसँगै केरुङ बन्दरगाहतसम्म जोड्न सडक युद्धस्तरमा पुनःनिर्माण गरिरहेको छ । केरुङसम्म जोड्ने राष्ट्रिय राजमार्ग जी–२१६ बाढीपहिरोका कारण केही स्थानमा क्षतिग्रस्त भएको थियो ।

केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू सक्रिय रुपमा काम गर्दै ढुंगा भरेर ग्याबियन बक्स तयार पारिरहेका छन् ।

चाइना रेलवे कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुपअन्तर्गत तिब्बत इन्जिनियरिङ मुख्यालयका कमान्डर लिउ मिङयुआनका अनुसार स्थलगत विपद् उद्धार तथा राहत मुख्यालयको एकीकृत निर्देशनअनुसार यस चरणमा मुख्य कामहरूमा राहत सामग्रीको आपूर्ति सुनिश्चित गर्ने, स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स तयार गर्ने तथा ढुंगा उत्खनन र कच्चा पदार्थ भण्डारणलगायतका आधारभूत सहयोगी काम हुनेछ ।

ग्याबियन बक्स तयार भएपछि तिनलाई विपद् प्रभावित क्षेत्रमा लगिने लिउले जानकारी दिए । सडकका केही जटिल खण्डमा स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स र ठूला ढुंगाहरू तीव्र गतिमा बगिरहेको नदीमा राखेर सडक संरचनाका लागि थप मजबुत आधार तयार गरिने बताइएको छ ।

चाइना एनेङ ग्रुपका अनुसार राजमार्ग मर्मतका लागि १५८ जना आपत्कालीन उद्धारकर्मी र एक्स्काभेटर तथा लोडरलगायत २८ वटा उपकरण परिचालन गरेको छ। उनीहरूले पालैपालो अर्थात् निरन्तर सञ्चालन हुने उद्धार तथा पुनःनिर्माण अभियानमार्फत काम गरिरहेका छन् ।

सोमबार दिउँसोसम्म जी–२१६ राजमार्ग बन्दरगाहबाट १.१ किलोमिटर दूरीसम्म पुनः सञ्चालनमा ल्याइएको सीसीटीभीप्लसले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal