आज :

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

  • अनलाइन डबली

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ । कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखाअगाडि वर्षौँको मेहनतले बनाएको संसार पानीको भेलसँगै बगेको छ । विपत्तिको यो घडीमा पीडितका लागि हरेक क्षण भारी बनेको छ । यस्तो अवस्थामा हामीले आफूलाई मात्र होइन, आफ्नो समाज र आफ्नो देशलाई सम्झनुपर्ने समय आएको छ । संकटका बेला राज्यको प्रयाससँगै नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक हुन्छ ।

हामीमध्ये धेरैजना सायद दुई दिनअघिसम्म आफ्नै संसारमा रमाइरहेका थियौँ । सामाजिक सञ्जालमा हाँसो थियो, मनोरञ्जन थियो, उत्सव थियो । जीवन आफ्नै गतिमा चलिरहेको थियो । तर एकाएक आएको बाढीले त्यो रंगमञ्चको पर्दा झारिदियो । हिजोसम्म रमाइलो लागिरहेको संसार आज कसैका लागि अँध्यारो बनेको छ । कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।

आज पनि कतिपय आमाबुबा आफ्ना छोराछोरीको बाटो कुरिरहेका छन् । कतिपय छोराछोरी आफ्ना अभिभावक फर्किने आशामा छन् । कतै आफन्तले शव बुझ्न पाएका छैनन्, कतै बेपत्ता प्रियजनको खोजी अझै जारी छ । कसैको हातमा आफ्नो घरको चाबी छ, तर घर छैन । कसैको आँखामा भविष्यको सपना छ, तर त्यो सपना थिचिएको छ भग्नावशेषमुनि । बाढीले माटो, ढुंगा र घर मात्र बगाएको छैन । यसले मानिसका वर्षौँका सपना, सम्झना र सम्बन्धमाथि पनि प्रहार गरेको छ ।

तर यही अँध्यारोबीच मानवताको उज्यालो पनि देखिएको छ । सुरक्षाकर्मीहरू आफ्नो ज्यानको पर्वाह नगरी उद्धारमा खटिएका छन् । स्थानीय नागरिकहरू आफ्ना दुःख बिर्सेर अरूको जीवन बचाउन दौडिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी र विभिन्न संघसंस्था राहत र उद्धारमा जुटेका छन् । छिमेकी देश तथा विदेशी सहयोगीहरूले समेत आवश्यक अनुमति र समन्वयमार्फत उद्धार तथा राहतमा हात बढाएका छन् । विपत्तिले सीमा, भाषा र पहिचानभन्दा माथि उठेर मानिस हुनुको अर्थ सम्झाइरहेको छ ।

यो समय कसैलाई दोष दिनेभन्दा पनि हातेमालो गर्ने समय हो । हामी सबैले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न सक्छौँ । कसैले राहत सामग्री दिन सक्छ, कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले स्वयंसेवक बनेर समय दिन सक्छ, कसैले सही सूचना फैलाएर सहयोग गर्न सक्छ । तर सबैभन्दा ठूलो कुरा पीडितको पीडालाई आफ्नो पीडा सम्झिनु हो । आज उनीहरूको घर बगेको छ, भोलि यस्तो विपत्ति हाम्रो ढोकासम्म पनि आइपुग्न सक्छ । त्यसैले संकटमा परेका नेपालीलाई एक्लो छोड्ने होइन, उनीहरूको साथमा उभिने जिम्मेवारी हामी सबैको हो ।

हामी साँच्चै कस्तो समाज हौँ भन्ने परीक्षा यस्तै कठिन समयमा हुन्छ । सुखमा साथ दिने मानिस धेरै हुन्छन्, तर दुःखमा हात समाउने मानिस नै आफ्नो हुन् छ। अहिले हजारौँ परिवारलाई हाम्रो एउटा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ । एउटा कम्बल, एक बोरा खाद्यान्न, एउटा औषधि, केही रुपैयाँ वा केही घण्टाको श्रम—पीडितका लागि त्यो जीवनसँग जोडिएको सहारा बन्न सक्छ । त्यसैले आफ्नो क्षमता र परिस्थितिअनुसार सहयोग गरौँ । राहतका नाममा हुने गलत सूचना र अफवाहबाट जोगिँदै विश्वसनीय माध्यमबाट मात्रै सहयोग गरौँ ।

दुई दिनको रंगमञ्चमा हामी सबै आ–आफ्नो भूमिकामा थियौँ । कसैले हाँस्यौँ, कसैले रमायौँ, कसैले आफ्नो संसारमा व्यस्त भयौँ । तर पर्दा झरेपछि वास्तविक जीवन देखियो कतै चित्कार, कतै आँसु, कतै प्रतीक्षा र कतै मौनता । अब प्रश्न एउटै छ यो पीडामा हामी दर्शक बनेर बस्ने कि एउटाको आँसु पुछ्ने हात बन्ने ? देश संकटमा छ । आज पीडितलाई हाम्रो साथ चाहिएको छ । किनकि यो देश सरकारको होइन, हामी सबैको हो । र जब देश रोइरहेको हुन्छ, साँचो नेपाली त्यतिबेला आफ्ना आँसु लुकाएर भए पनि अर्को नेपालीको हात समाउन अघि बढ्छ ।

सन्तोषी रावल, नेपाल न्यूज बैँक

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal