काठमाडौ । सरकारको ‘गरिबमारा’ नीतिको कारण गणेश नेपालीले आत्मदाह गरेको वक्ताहरुले आरोप लागाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा उनिहरुले न्याय नभए संघर्षलाई चर्काउने चेतावनी समेत दिएका छन् ।
संघीय सांसद पार्वति विकले वर्तमान सरकार गरिब जनतालाई उकास्ने भन्दा भौतिकरुपले सकाउने दिशाको सिकार गणेश नेपाली भएको जिकिर गरेकी छन् । विकले मृतकको विषयमा गृहमन्त्री सुदन गुरुङले झुटबोलेको बताउँदै भनिन्,“‘आवश्यक परे भारत लगेर उपचार गराउँछु’ भनेर ‘स्टन्टबाजी’ गरेर वीर अस्पतालमा मर्न छाड्नुभयो ।”
मृतक नेपालीलाई न्यायबाट बञ्चित गराउन आत्महत्या पुष्टि गराउन खोजिएको आरोप लगाउँदै सांसद विकले भनिन्,“गणेश नेपालीको कायरता हैन, श्रमिक वर्गमाथि गरेको राज्यविरुद्धको विद्रोह हो, दुइदिन अघि राइडरहरुले सरकालाई ज्ञापनपत्र दिएका रहेछन्, त्यसमा सरकार किन मौन ।” “अब पनि जनता चुप रहने हो र गणेश नेपालीहरुले न्याय पाएनन् भने आम श्रमिक तथा गरिखाने वर्गलाई यो देशमा बाँच्न गाह्रो हुनेछ” विकले थपिन् ।
सामाजिक अभियान्ता डा.निर्मल विश्वकर्माले गणेश नेपालीलाई राज्यले आत्मदाह गर्न बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गरे । पूर्व राजदूत समेत रहेका विश्वकर्माले गणेशको आत्मदाहाको मुख्य कारण ‘अव्यावहारिक ट्राफिक जरिवाना’ रहेको दाबी गर्दै त्यसलाई खारेजी र जनमैत्री प्रणाली लागु गर्न माग गरेका छन् । उनले पीँदमा रहेका उत्पीडित तथा गरिब जनतालाई माथि उठाउने भन्दा सरकार उनिहरुलाई नै भौतिकरुपले सकाउने दिशातिर अघि बढेको आरोप लगाए ।
दलित अधिकारकर्मी केशव नेपालीले गणेशको मृत्युले वर्तमान सरकार धनीहरुको मात्रै भएको प्रष्टिएको बताए । गणेश नेपाली जस्ता गरिखाने जनतालाई बाँच्न पाउने अधिकारबाट नीतिगतरुपमै च्युत गरिरहेको भन्दै सरकारको आलोचना गरे ।
“सरकार धनाड्य र रहिसहरुको हो थाहा भइसक्यो, थानकोट चेकपोष्टमा ‘लाइसिन्स’ र ‘ब्लुबुक’ चेक गर्नुभन्दा ‘लालपूर्ज’ चेक गर्नुपरो, राजधानीमा लालपूर्जा भएकालाई मात्रै काठमाडौं छिराउने नियम बनाउ बालेन सरकार” नेपालीले भने ।
जेनजी युनाइटेडका संयोजक जनक परियारले गणेश नेपालीकोको आत्मदाह गरिब तथा श्रमीक वर्गको अधिकारको लागि ‘बालेन सरकार’ विरुद्धको पहिलो सहादत भएको जिकिर गरे । परियारले घटनाको निष्पक्ष छानविन र आत्मदाह गर्न बाध्य पार्ने दोषीहरूमाथि कडा कानुनी कारवाही हुनुपर्ने माग गरे । “यो केवल एउटा आत्महत्या नभएर राज्य संयन्त्रको दबाब र अत्याचारका कारण घटेको ‘संरचनात्मक हत्या’ हो” परियारले भने ।
राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विकले पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति र राहत दिनुपर्ने माग गरे । “राज्यको चरम उदासीनता र परिस्थितिका कारण नागरिकले आत्मदाह गर्नुपर्ने स्थिति आउनु राज्यकै कमजोरी हो । त्यसैले, मृतकका आश्रित परिवारको तत्कालको गर्जो टार्न र न्यायको अनुभूति गराउन सरकारले अविलम्ब एकमुष्ट उचित आर्थिक क्षतिपूर्ति उपलब्ध गरियोस्” विकले भने ।
श्रमसंस्कृति पार्टीका युवा नेता निर्मल परियारले पीडित परिवारको वर्तमान सरकार एकपछि अर्को गर्दै जनतामाथि नीतिगतरुपमै अत्याचार थोपर्ने दिशातिर जाँदाको परिणाम गणेशको आत्मदाह भएको बताए ।
परियारले गणेशका परिवारको मुख्य आयआर्जन गर्ने व्यक्तिको गुमाउँदा उत्पन्न हुने रिक्ततालाई कम गर्न राज्यले मृतकका बालबाच्चाहरूलाई शिक्षा र स्वास्थ्य निःशुल्क व्यवस्था गर्नुपर्नेमाग गरे ।
दलित अभियान्ता सन्तोस आहुजीले पुराना दलहरुले बेथिति र भ्रष्टाचार गरेको भनेर आएको बालने सरकारले पुरानाभन्दा बढी अत्याचार गरेको आरोप लगाए ।
अर्का अभियान्ता जनक अहुजीले देश र जनताको अभिभावक बन्नुपर्ने सरकार विदेशीको योजनामा जनतालाई पेल्न लागेको आरोप लगाए । उनले गणेश नेपालीको आत्मदाह एउटा हृदयविदारक र गम्भीर घटना भएको बताए । उनले न्याय नपाउँदसम्म संघर्ष जारी राख्नुपर्ने सबैमा अपिल गरे ।


अनलाइन डबली


