
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा मेला प्रारम्भ भएको छ । प्रत्येक तीन वर्षको एकपटक एक महिनासम्म मच्छेगाउँमा मेला लाग्ने परम्परा अनुसार आजबाट मेला सुरु भएको हो ।
शिखिबुद्धले स्वयम्भू दर्शनार्थ ध्यान गर्दागर्दै मोक्ष प्राप्त गरेको ठाउँ तथा उपत्यकाको पानी बाहिर पठाउन बोधिसत्व मञ्जुश्री र उनकी पत्नी सरस्वतीले समेत चोभारको डांडा छेदन गर्न अघि ध्यान बसेको ठाउँ ध्यानाचो, माजु (चम्पादेवी सात हजार ३ सय ७३ फिट अग्लो। पर्वतको पादमा रहेको वस्ती मच्छेगाउँ पत्यकाको दक्षिण पश्चिम खोचमा अवस्थित छ । विशेषगरी मच्छेगाउँको मेलामा भक्तजनहरू ध्यानाचो अर्थात् चम्पादेवीमुन्तिर अवस्थित मच्छेनारायणको देवस्थलमा नुहाउन तथा दर्शन गर्न हजारौको संख्यामा भीड लाग्ने गर्दछन् ।
चन्द्रमास अर्थात नेपाल संवत्को तिथिअनुसार प्रत्येक तीन वर्षको एक पल्ट एक महिनासम्म मलमास पर्दछ । पुरूषोत्तम अथवा मलमास परेको वर्ष मलमास सकिनासाथ दशैंको नौरथा शुरू हुन्थ्यो भने पुरूषोत्तम महिना परेको बेला एक महिना खाली भई एकै चोटी कार्त्तिकमा दशैं र मंसिरमा तिहार पर्न जाने गर्दछ । यही खाली एक महिनासम्म लाग्ने मेलालाई उपत्यकावासीहरू मच्छेगाउँ मेलाकारूपमा चिन्दछन्। नैकाप, तीनाथाना वा कीर्तिपुर, थानकोट वा फर्पिङ जुनसुकै ठाउँबाट पनि पुग्न सकिने मच्छेगाउँ चम्पादेवी डाँडाको पादमा रहेको छ ।
नैकाप वा तीनथानाबाट मच्छेगाउँ पुग्न बल्खुखोला तरेर जानुपर्ने अथवा थानकोट, कीर्तिपुर, फर्पिडबाट गाउँ पुगौं भन्ने जंगलैजंगलको बाटो हिंसक जीबजन्तुहरूको भय र निकै असजिलो खोंचमा रहेको वस्तीलाई मान्छेहरूले ‘मछिं’ अप्ठ्यारो ‘गां’ गाउँ भन्न थालेछन् । पछि हिन्दुस्थानी प्रभाव परेपछि मल्लकालमा विष्णुका दश अवतारमध्ये एक मत्स्य अवतारको प्रतिनिधित्व गरी ने.सं. ८९७ मा माछाको मुखबाट नारायण उत्पन्न भइरहेको काल्पनिक देवताको मन्दिर खडा गरेपछि मछिंगां नै मत्स्यगाउँ भएको हो ।
गोपालवंशी नेवार गोपालीहरूको बाहुल्यता रहेको मछिंगा बारे चर्चित आख्यान पाईन्छ, मछिंगांमा एक दिन कीर्तिपुरका राजा हात्तीमा चढेर घुम्न गएछन् । आदिवासी गोपालीहरूको अशिक्षित वस्तीमा अगाडि पनि पुच्छर पछाडि पनि पुच्छर भएको जन्तु देखेपछि खेतमा काम गरिरहेका किसानहरू कुटो, कोदालो, बन्चरो लिएर आक्रमण गर्न ओइरिएछन् । यस घटनावाट अचम्ममा परेका राजाले ती आक्रामक अशिक्षित जातिको सुधारको लागि कीर्तिपुरबाट श्रेष्ठ, खड्गी र मानन्धरलगायतका जातिहरूलाई सो क्षेत्रमा बसोबास गरेको आख्यान पनि पाईन्छ।
नैकाप ढुङ्गे अड्डाबाट सांढे तीन कि.मी. कीर्तिपुरबाट पनि ५ कि. मी. मात्र दक्षिण-पश्चिम चम्पादेवी पहाडको खोचमा रहेको मच्छिगाउँ परम्परागत ढोकाबाट भित्र छिरेपछि ढुङ्गाको पर्खालले घेरिएको दुईवटा कुण्ड र कुण्डको बीचमा मत्स्यनारायणको शिखरशैलीको मन्दिर रहेको देखिन्छ । माथिल्लो कुण्डको पर्खालमा अमोघसिद्धि बुद्ध (जुन हाइसकेको छ।, लक्ष्मीनारायण, राधाकृष्ण, वरूण, विष्णु, शिवपार्वती तथा शीतला र कुण्डको दायाँबायाँ स-साना ढुग्ने चैत्य तथा पाटी रहेका छन् । यस कुण्डको पवित्र पानी देवतालाई जल चढाउन र मच्छेगाउँबासीलाई पिउनको लागि मात्र प्रयोग गरिएको छ भने सोही कुण्डको जल दोश्रो पोखरीमा झर्नुअघि ढुङ्गेधाराको रूप दिइएको छ ।


बुद्धशरण शाही

