आज :

ओझेलमा ऐतिहासिक सिम्रौनगढ : मधेसकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना

  • बुद्धशरण शाही

रौतहट । बाराको मध्य–तराईमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल सिम्रौनगढ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ११औँ शताब्दीको गौरवशाली कर्नाटक वंशको राजधानी रहेको यो क्षेत्र अहिले ‘उजाड र असरल्ल’ अवस्थामा छ ।
सन् १०९७ मा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । नान्यदेवपछि गंगासिंह देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव र अन्तिम राजा हरिसिंह देवले यहाँ शासन गरे। इतिहासकारहरू यस काललाई मिथिलाको ‘स्वर्णयुग’ मान्छन्, जहाँ कला, साहित्य र संस्कृतिको अभूतपूर्व विकास भएको थियो ।

सिम्रौनगढ कुनै समय मजबुत किल्लाले घेरिएको आधुनिक नगर थियो। यहाँका प्राचीन मूर्ति र वास्तुले विशिष्ट ‘कर्नाट शैली’ को कला झल्काउँछन्। हालैका उत्खननमा ७०० देखि ८०० वर्ष पुराना ऐतिहासिक इँटा र मध्यकालीन सहरी सभ्यताका अवशेषहरू फेला परेका छन्, जसले यसको प्राचीन अवस्थालाई पुष्टि गर्छ ।

यहाँको कङ्काली माई मन्दिर सबैभन्दा प्रसिद्ध धार्मिक गन्तव्य हो।प्राचीन दरबारका अवशेष र जगत् जङ्गले निर्माण गरेको राम मन्दिरले पर्यटकलाई लोभ्याउन सक्छ ।

पुरातात्त्विक सम्पदाको खानी भएकाले यसलाई खुला सङ्ग्रहालयको रूपमा विकास गर्न सकिने देखिन्छ ।

वीरगन्जबाट करिब २८ किलोमिटरको दूरीमा रहेको यो स्थल ऐतिहासिक रूपमा समृद्ध भए पनि हाल उपेक्षित छ । स्थानीय बासिन्दा दीपेन्द्र जयसवालले भने, ‘यस क्षेत्रलाई व्यवस्थित गर्न सके यो मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

ऐतिहासिक क्षेत्रको थप उत्खनन्, जीर्णोद्धार र प्रचारप्रसारका लागि स्थानीय र केन्द्रीय सरकारले विशेष ध्यान दिनु आवश्यक देखिन्छ। सम्पदाहरूको संरक्षण हुन सके सिम्रौनगढले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने निश्चित छ ।

 

तलेजु भवानी : नायर वंशीयहरुको ईष्ट देवता  

तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी आफ्नो इस्टदेवता तलेजु भवानी सहित भक्तपुरका राजा रुद्र मल्लको शरणमा आएको इतिहासमा उल्लेख छ।

कलश स्वरूप तलेजु भवानी दरवार क्षेत्रभित्र ढुंगा छापेको चोक बीचमा सर्वाधिक सम्मानका १३ वटा गजुरयुक्त मन्दिर बनाई प्रतिस्थापित गराएका थिए । तत्कालिन राजा रुद्रमल्लकी बहिनी देवलदेवी कर्नाटक (नाएर) बंशी राजा हरिसिंह देवका पत्नी थिइन् ।

स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाइ हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ ।

यक्ष मल्लको राज्य कालमा उपत्यका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ-आफ्ना राज्य (काठमाडौँ, ललितपुर) मा तलेजु भवानीको स्थापना गर्नथालिएको थियो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal