आज :

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

  • अनलाइन डबली

काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको छोटो अवधिमै उल्लेख्य वित्तीय प्रगति गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालित यस केवलकारले आर्थिक वर्ष २०८१÷८२ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ ।

यसअघि आर्थिक वर्ष २०८०÷८१ मा कम्पनीले १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मे २९ देखि सञ्चालनमा आएको यस केवलकारले लुम्बिनी प्रदेशको धार्मिक र पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । लुम्बीनी केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको समुहको कम्पनी हो ।

पाल्पामा सवा २ अर्बको पाँचतारे होटल

कम्पनीले केवलकारको माथिल्लो स्टेशन (पाल्पाको बसन्तपुर) मा एकीकृत पर्यटन गन्तव्य विकास गर्ने लक्ष्यका साथ पाँचतारे होटल निर्माणको प्रक्रिया अघि बढाएको छ । उक्त होटल परियोजनाको अनुमानित लागत २ अर्ब २५ करोड ८० लाख रुपैयाँ रहेको छ । हाल होटल डिजाइनको काम प्रारम्भिक चरणमा छ

होटल निर्माणका लागि आवश्यक पुँजी जुटाउन कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूसँग ऋण लगानीका लागि छलफल गरिरहेको छ । साथै, कम्पनीले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत थप पुँजी संकलन गर्ने योजना समेत बनाएको छ ।

वित्तीय अवस्था र ऋण व्यवस्थापन

कम्पनीले ५७ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी प्राप्त रकमबाट २३ करोड रुपैयाँ ऋण अग्रिम भुक्तानी गरेको छ, जसले गर्दा कम्पनीको ऋणको भार केही कम भएको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन ५० प्रतिशतको हाराहारीमा रहेको छ, जुन व्यवसायिक हिसाबले सकारात्मक मानिन्छ ।

व्यापारिक सफलताका बाबजुद कम्पनीले केही चुनौतीहरूको सामना गरिरहेको छ । इक्रा नेपालका अनुसार, आर्थिक वर्ष २०२५ मा केवलकार चढ्ने यात्रुहरूको संख्यामा २६ प्रतिशतले गिरावट आएको छ । यसले गर्दा सञ्चालन आम्दानीमा केही संकुचन देखिएको छ ।

साथै, बुटवल–भैरहवा क्षेत्रमा सञ्चालित अन्य सुविधायुक्त होटलहरूसँगको प्रतिस्पर्धा र पर्यटन क्षेत्रमा आउने उतारचढावलाई कम्पनीका लागि चुनौतीका रूपमा हेरिएको छ । होटल परियोजना ठूलो लगानीको भएकाले समयमै निर्माण सम्पन्न गर्नु र वित्तीय व्यवस्थापन गर्नु कम्पनीको मुख्य कार्यभार रहनेछ ।

धार्मिक पर्यटनको केन्द्र

केवलकारको १० मिनेटको यात्रापछि पुगिने बसन्तपुर क्षेत्रमा कामाख्यादेवीको मन्दिर, शिव वाहन नन्दी र सय वर्ष पुरानो भगवती मन्दिर जस्ता धार्मिक संरचनाहरू रहेका छन् । विशेषगरी भारतीय पर्यटक र आन्तरिक पर्यटकका लागि यो क्षेत्र प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था र प्रवद्र्धकहरूको अनुभवलाई मध्यनजर गर्दै यसको रेटिङ बी प्लसमा यथावत् राखेको छ । आईएमई समूहको यसअघि चन्द्रागिरि र मौलाकाली केवलकार सञ्चालनको अनुभव भएकाले यो आयोजनाले पनि दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal