आज :

भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा सुरु ( आख्यान सहित )

  • बुद्धशरण शाही

काठमाडौं । सौर्यमासका आधारमा मनाइने देशको एकमात्र  भक्तपुरको  बिस्का जात्राको भव्य तयारीका साथ आज (शुक्रबार)बाट सुरु भएको छ । आठ दिन नौ रातसम्म मनाइने यो ऐतिहासिक जात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।

वि सिका अर्थात विष धारी  नाग मरेपछि मनाउन थालिएको बिस्का जात्रा भक्तपुरका अलावा मध्यपुर थिमी, टोखा, फुटुङ, गोकर्णलगायतका ऐतिहासिक बस्तीमा पनि एकसाथ मनाइने परम्परा रहेको छ  ।

काठमाडौंको इन्द्रजात्रा हाँडीगाउँ, पशुपति-ग्वल, फुरिख्यो (मनमैजु), ललितपुरलगायतका विभिन्न बस्तीमा लिङ्गो उठाएरै जात्रा प्रारम्भ गर्ने गरिन्छ तर भक्तपुरको बिस्का जात्राको लिङ्गो उठानको आख्यान विचित्रको रहेको छ ।

आख्यानुसार प्राचीनकालमा भक्तपुरकी रानीसँग जसले विवाह गरी रात बिताउँथे, उसको मृत्यु हुन्थ्यो । भाइभारदारले रानीलाई पुनः अर्को विवाह गराई राजा घोषणा गर्थे तर रात बिताएकै दिन राजाको मृत्यु हुन थालेपछि ठूलो हल्लीखल्ली मच्चिन थालेपछि देशमा राजा हुन चाहने व्यक्ति नै पाउन छोड्‌यो । एक दिन राजा बन्ने मान्छेको खोजी गर्दै जाँदा एक जना दाउरे फेला पर्यो तर दाउरेको मनमा एउटा प्रश्न उब्जियो – यात्रो ठूलो देशकी रानीसँग विवाहको प्रस्ताव किन आइरहेको छ ? तर दाउरेको रानीसँग विवाह हुन्छ । सुहागरातमा दाउरे राजा जब सोचमग्न भई बसिरहेका हुन्छन्, रानीको नाकबाट सानो सर्प निस्किएर ठूलो अजिङ्गरको रूप लिदै गएछ । आश्चर्यचकित राजाले सर्पलाई तीन टुक्रा हुने गरी काटिदिएछन् । यही खुसीयालीमा नाग-नागिनीको लास ३२ हाते लिङ्गोमा उठाएर वि (नाग) र सिका (मारिए) पछि नै कालान्तरमा बिस्का जात्राका रूपमा मनाउन थालिएको हो ।

अर्को आख्यानुसार मञ्जुश्रीले नेपाल उपत्यकाको पानी चोभारबाट बाहिर पठाए पनि नाग-नागिनीकै बास थियो । छालिङ राजधानी रहेको बेला सिकार खेल्न जङ्गल पसेका राजा सूर्यकेतुले एउटा पोखरीको डिलमा मुसाले बिरालोलाई गर्दन समाएर पछारेको देखेछन् । आश्चर्यचकित दृश्य हेरिरहेका राजालाई छुमा गणेशले प्रत्यक्ष दर्शन दिदै भनेछन्- राजा जङ्गली विषालु नाग-नागिनीका कारण विस्तार हुन नसकेको बस्ती नाग-नागिनीको संहार गरी विस्तार गर्नु भनि गणेश भगवान्‌को आज्ञामुताविक नाग-नागिनीको संहार गरी बस्ती विस्तार गरेको खुसीयालीमा बिस्का जात्रा मनाउन थालिएको हो ।

विषालु नाग-नागिनीको प्रतिक ३२ हाते लिङ्गोमा झुन्ड्याइने पताहा र राजा सूर्यकेतुको प्रतिकस्वरूप भैरव-भैरवी खट रहेको कथन छ ।

जात्राको पहिलो दिन आज साँझ पाँचतल्ले मन्दिर अगाडिको तौमडी क्षेत्रबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लगिनेछ । साथै, भैरवनाथको रथ ‘भैलखः’ तानातान गर्दै जात्राको औपचारिक सुरुवात गरिनेछ ।

अब आगामी नौ दिन भक्तपुर शहर जात्राको रौनकमा झुम्नेछ । परम्पराअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तान्ने गरिन्छ ।

भैलखः तान्नु अघि रथमा खड्ग, तरवार र निशान राख्ने चलन छ । जात्राको मुख्य आकर्षण नै यही रथ तानातान हो, जहाँ दुई टोलका बासिन्दा आ–आफ्नो क्षेत्रतर्फ रथ तान्न प्रतिस्पर्धा गर्छन् ।

पहिलो दिन पाँचतल्ले मन्दिर प्रांगणबाट भैलखःलाई अगाडि पाँच र पछाडि चारवटा डोरी प्रयोग गरी थने र क्वनेका बासिन्दाले तान्ने परम्परा रहेको छ ।
जात्राको पहिलो दिन ‘देव कोहन बिज्यगु’ मनाइन्छ, जसमा भैरव र भद्रकालीलाई रथमा विराजमान गराई शहरको तल्लो भागतर्फ तानिन्छ । यस क्रममा ‘टग अफ वार’ जस्तो प्रतिस्पर्धात्मक माहोल सिर्जना हुने गर्दछ ।

तौमडी स्क्वायर (पाँचतल्ले मन्दिर अगाडि) बाट सुरु हुने रथयात्रा भक्तपुरको सांस्कृतिक पहिचानको प्रमुख आकर्षण मानिन्छ ।
बिस्का जात्रा विशेषगरी नयाँ वर्षको आगमनसँग जोडिएको परम्परागत उत्सव हो, जसले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई झल्काउँछ ।

भक्तपुरको माख्योमा चैत्र मसान्तका दिन नागपताकासहितको लिङ्गो उठाई र वैशाख १ गते (खाइसल्हु) का दिन लिङ्गो ढाली यसबर्षको जात्रा समापन गरिन्छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal