काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको इरानले जवाफ फर्काएको छ । ट्रम्पले होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका ऊर्जा केन्द्रहरुमा हमला गर्ने चेतावनी दिएका थिए ।
इरानले ट्रम्पको जवाफ फर्काउँदै आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकासँग जोडिएका सबै ऊर्जा पूर्वाधारहरूमाथि प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।
होर्मुज स्ट्रेट जलमार्ग इरानले पूर्णरुपमा बन्द गरेपछि अमेरिका विश्वभरबाट ठूलो दबाबमा परेको छ । यो जलमार्ग खुलाउन ट्रम्पले नेटो देशहरुसँग सहयोग पनि मागेका थिए तर कसैले साथ नदिएपछि ट्रम्पको ४८ घण्टे चेतावनी आएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आफूमाथि आक्रमण भएमा खाडी क्षेत्रभरि रहेका अमेरिकासँग जोडिएका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने इरानका अधिकारीले चेतावनी दिएका हुन् ।
यो अल्टिमेटम मार्च २४ मा तेहरानको समयअनुसार बिहान ०३ः१४ बजे सकिनेछ । अब ट्रम्पले धम्की मात्रै दिने हुन कि इरानका ऊर्जा केन्द्रमा हमला गर्छ हेर्न बाँकी छ । यदि, अमेरिका–इजरायलले हमला गरेमा युद्ध झन् भिषण बन्ने देखिएको विश्लेषकहरु बताउँछन् ।
यसअघि शनिबार ट्रम्पले आफ्नो युद्धको लक्ष्य निर्धारित समयभन्दा हप्तौं अगाडि नै हासिल गरिसकेको टिप्पणी गर्दै युद्ध छोटिने संकेत गरेका थिए । तर, त्यसको केही घण्टापछि फेरि ४८ घण्टे चेतावनी दिएका छन् ।
इरानले आफ्ना नतान्ज आणविक केन्द्रमा गरेको हमलाको जवाफ इजरायलको डिमोना आणविक ऊर्जा केन्द्रमा हमला गरेको थियो । इरानले सातवटा मिसाइल डिमोना केन्द्रमा प्रहार गरेको छ ।


अनलाइन डबली

