आज :

प्लास्टिक निषेध पछि फेरीदै धनगढीको स्वरुप, आयातित प्लास्टिक बन्दै चुनौति

  • अनलाइन डबली

धनगढी । धनगढी बजारमा फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा दुर्गन्ध बढेको थियो । मुख्य बजार क्षेत्रमै दुर्गन्धका कारण टिक्न सक्ने अवस्था थिएन । धनगढी उप महानगरपालिकाले फोहोर व्यवस्थापनको प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेको थिएन । प्लास्टिकको अत्याधिक प्रयोगका कारण शहर जताततै फोहोर र अव्यवस्थित थियो ।

तर अहिले धनगढीको परिचय फेरिएको छ । फोहोर देखिने धनगढी हरियालीमा परिणत भएको छ । प्लास्टिकका झोला र अन्य सामाग्री देखिन छाडेका छन् । बजार क्षेत्रमा दुर्गन्ध हट्दा सहजै आवत जावत् गर्न सक्ने अवस्था छ । स्थानीयका अनुसार पछिल्लो समय धनगढी उप महानगरपालिकाले ठाउँठाउँमा डस्टिविनको व्यवस्थापन गरेको छ । जथाभावि फाहोर फ्याँक्ने नागरिकलाई नगर प्रहरीले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ ।

जसका कारण नागरिकमा पनि फोहोर व्यवस्थापन गर्ने वानीको विकास भएको छ । ‘अहिले तीन÷चार बर्ष अघिको तुलनामा धनगढीमा उल्लेख्य परिवर्तन भएको छ,’ धनगढी–१३ का रामप्रसिंह कार्कीले भने, ‘हरियाली र चिटिक्क अनि व्यवस्थित सडक देखिन थालेको छ, दुर्गन्ध कतै देखिदैन ।’ धनगढीमा प्लास्टिकका व्यवस्थापन सवै भन्दा ठुलो उपलब्धी भएको कार्कीको भनाई छ । जताजतै प्लास्टिक मात्रै देख्निथ्यो,’ कार्कीले भने, ‘यसलाई व्यवस्थापन गर्न सकिदैन होला भन्ने लागेको थियो, तर चाह्यो भने सकिदो रहेछ, नेतृत्वको दृढ अठोटका कारण यो सम्भव भएको हो, प्लास्टिक देखिन छाडेपछि धनगढीको मुहार फेरिएको छ ।’

‘आज धनगढीका सडकमा प्लास्टिकका टुक्रा होइन, हरियाली र रुखका पातहरू देखिन थालेका छन्,’ उनले भने, ‘यो परिवर्तन कुनै संयोग होइन, बरु उप महानगरपालिकाको कडा नीति र नगरबासीको बढ्दो चेतनाको परिणाम हो ।’

धनगढी–१ का स्थानीय चेतराज भट्ट तीन वर्षअघिको धनगढी र अहिलेको धनगढीमा आकाश–जमिनको फरक महसुस भइरहेको बताउछन् । ‘पहिले जताततै प्लास्टिकको दुर्गन्ध हुन्थ्यो,’ भट्टले भने, ‘अहिले सडकमा डस्टबिन राखिएका छन्, मानिसहरूले फोहोर बाटोमा फाल्न छोडेका छन्, यो धेरै ठूलो प्रगति हो ।’

विद्यार्थी ईश्वर पाठकको अनुभव पनि उस्तै छ । उनी भन्छन्, ‘अहिले मास्क नलगाएरै हिँड्न सक्ने वातावरण बनेको छ, हरियाली प्रवद्र्धनमा भएको सुधारले सहरको सौन्दर्य मात्र बढाएको छैन, जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको छ ।’

धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झिल्ली, प्लेट, गिलास र माला लगायतका सामाग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । धनगढी उप महानगरपालिकाका वातावरण अधिकृत अशोकराज अवस्थीका अनुसार नगरपालिकाले अनुगमनको पाटोलाई पनि तिब्र बनाएको छ ।
उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै लुकिछिपि वेच्न खोज्ने वा सीमा क्षेत्रबाट आयात गर्न खोज्ने क्रममा एक सय ५ किलो प्रतिबन्धित प्लास्टिक जफत गरिएको छ । यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा दुई सय दुई किलो र ०८१÷०८२ को सुरुवाती चरणमा एक सय ३४ किलो प्लास्टिक तफत गरी नष्ट गरिएको थियो ।

लुकिछिपी प्रयोग गर्नेहरूलाई कडा कारबाही र जरिवाना गर्ने नीतिले गर्दा व्यापारी र उपभोक्ता दुवै सचेत हुने गरेका उनले बताए ।

धनगढीले फोहोरलाई समस्या मात्र मानेको छैन, यसलाई आम्दानीको स्रोत पनि बनाएको छ । हाल उपमहानगरले फोहोर व्यवस्थापनबाट वार्षिक ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । करिब ९० प्रतिशत फोहोर स्रोतमा नै वर्गीकरण गरिन्छ, जसले गर्दा पुनः प्रयोग गर्न मिल्ने सामग्रीलाई बिक्री गरेर नगरको कोषमा रकम जम्मा भइरहेको छ ।

तर सफलताका बीच केही चुनौति अझै कायम रहेको वातावरण अधिकृत अवस्थी बताउँछन् । उनका अनुसार खुला सीमाका कारण भारतबाट लुकिछिपी भित्रिने सस्तो प्लास्टिकका कारण पूर्ण प्रतिबन्धमा समस्या परेको छ । त्यसैगरी छिमेकी पालिकामा पलास्टिक प्रयोग भइरहेका कारण पनि केही चुनौति रहेको अवस्थी बताउँछन्

‘भारतबाट किनमेल गरेर भित्रिने प्लास्टिक हाम्रो चुनौति बनेको छ,’ अवस्थीले भने, ‘त्यसबाहेक छिमेकी पालिका (कैलारी गाउँपालिका, गौरिगंगा नगरपालिका, गोदावरी नगरपालिका)मा पनि प्लास्टिक प्रतिबन्ध गरिएको छैन, त्यहाँ सामान किनमेल गरेर पनि धनगढीमै भित्रिन्छ, जसका कारण हामीलाई चुनौति थपिएको छ ।’ त्यसका साथै पहाडी क्षेत्रबाट आयात हुने तरकारी र फलफूलमा प्रयोग हुने प्लास्टिक धनगढीमै थुप्रिने गरेको अवस्थी बताउछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal