
काठमाडौं । जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको छ । मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो ।
स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो । चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको अविजित साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पारेको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे । जारी विश्वकपमा यो दीपेन्द्रको लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए । गुल्सन झाले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रनमा अविजित रहे ।
ओपनर कुशल भुर्तेल ४३ रन बनाउँदा क्याच आउट हुन पुगे । ३५ बलमा १ चौका ६ छक्का सहयोगमा ४३ रन बनाएका कुशल माइकल लिस्कको बलमा क्याच आउट भए । अर्का ओपनर आशिफ शेख २७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाउँदा माइकल लिस्क कै बलमा क्याच आउट भए ।
कप्तान रोहित पौडेल १४ बलमा १ चौकाको मद्दतमा १६ रन बनाउँदा माइकल कै बलमा क्याच आउट हुन पुगे । स्कटल्यान्डका लागि ३ विकेट माइकल लिस्कलले लिए उनले आफ्नो स्पेलमा ३० रन खर्चे । त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो । पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए । २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए । त्यसअघि १० औँ ओभरको पाचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। त्यसको दोस्रो बलमा जर्ज आउट भए । दोस्रो विकेटका लागि माइकल र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरेका थिए । १६ औँ ओभरको दोस्रो बलमा ७१ रन बनाएका माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ४५ बलमा ८ चौका र ३ छक्का हाने । १६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का हानेका थिए ।
कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे । म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए । टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए ।माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए । मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । सोमपालले आफ्नो स्पेलमा २५ रन दिए । नन्दन यादवले २ विकेट आफ्नो नाममा गरे । कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए । कुशलले आफ्नो स्पेलमा ३७ रन दिए ।
जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो । तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार बेहोर्यो । त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन ।
नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो । नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो ।


अनलाइन डबली




