आज :

मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन

  • अनलाइन डबली

मुगु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन गरिएको छ ।

नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो। निर्वाचन अवधिमा एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।

जिल्लास्थित तीनवटै सुरक्षा निकाय—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल—तथा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा एकीकृत सुरक्षा तालिम अन्तर्गत उक्त प्रदर्शन गरिएको हो। निर्वाचनका क्रममा हुन सक्ने विभिन्न निर्वाचनविरोधी गतिविधि नियन्त्रण गरी निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउने अभ्यास सुरक्षाकर्मीहरूले योजनाबद्ध रूपमा प्रस्तुत गरेका थिए।

मतदान केन्द्र सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त भूमिकाबारे पनि नमुना अभ्यासमार्फत जानकारी दिइएको श्री हनुमानध्वज गुल्म, हुटुका सेनानी खड्गबहादुर श्रेष्ठले बताए।

एकीकृत तालिमको अन्तिम दिन आयोजित सुरक्षा प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले निर्वाचन शान्तिपूर्ण बनाउन राजनीतिक दलहरू स्वयं पनि मर्यादित र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए । उनले निर्वाचनका क्रममा विभिन्न स्वरूपका घटना हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस्ता अभ्यासले मतदान केन्द्रलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने बताए।

यस सुरक्षा अभ्यासले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal