आज :

भिजिवीलिटी कमहुँदा पर्यटकहरुको यात्रा योजनामा असर

  • अनलाइन डबली

———–

 

काठमाडौं । राजधानी काठमाडौंमा बुधबार बिहानदेखि देखिएको खराब मौसमले नेपाल आउने–जाने पर्यटकको यात्रा योजनामा असर परेको छ ।

भिजिवीलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् । पर्यटकीय सिजनको पूर्वसन्ध्यामा देखिएको मौसम अवरोधका कारण विदेशबाट नेपाल भ्रमणमा आउने पर्यटक बोकेका ठूला विमानहरू आकाशमै होल्डमा राखिएका छन् भने केही विमानहरू अवतरण गर्न नसकी गन्तव्यतर्फ फर्किन बाध्य भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दोहा, इस्तानबुल लगायतका अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमानहरू अनुकूल मौसमको पर्खाइमा सिमराको आकाशमा होल्डमा राखिएका छन् । यसले काठमाडौंलाई प्रवेशद्वार बनाउँदै पोखरा, चितवन, लुम्बिनी तथा हिमाली गन्तव्यतर्फ जाने पर्यटकको आन्तरिक यात्रा तालिका पनि प्रभावित भएको छ ।

आन्तरिक उडानतर्फ तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराज जस्ता पर्यटन तथा व्यवसायिक सम्भावना बोकेका विमानस्थलहरूमा पनि मौसम प्रतिकूल हुँदा उडान ठप्प भएका छन् । यसले साहसिक पर्यटन, धार्मिक भ्रमण र व्यवसायिक यात्रामा निर्भर यात्रुहरूलाई वैकल्पिक योजना बनाउन बाध्य बनाएको छ ।

पर्यटन विज्ञहरूका अनुसार काठमाडौं उपत्यकाको मौसमले अन्तर्राष्ट्रिय उडानमा बारम्बार असर पार्नु नेपाल पर्यटनको छविका लागि चुनौतीपूर्ण विषय हो । आधुनिक प्रविधिमा आधारित नेभिगेसन प्रणाली विस्तार भएमा खराब मौसममा पनि सुरक्षित अवतरण सम्भव हुने र पर्यटकको समय तथा अनुभव दुवै जोगिन सक्ने उनीहरूको भनाइ छ ।

हाल त्रिभुवन विमानस्थलबाट दैनिक करिब १०० अन्तर्राष्ट्रिय र २०० आन्तरिक उडान सञ्चालन हुने गरेका छन् । मौसम सुधार नहुँदासम्म यात्रु तथा पर्यटकलाई उडान तालिका अद्यावधिक जानकारी लिइरहन र वैकल्पिक योजनासहित यात्रा गर्न पर्यटनसम्बद्ध निकायले आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal