
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् ।
झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन् ।
ओलीले भने, ‘भदौ २३ मा यत्रो युवाहरू मारिए। त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ ।’
उनले सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहने उल्लेख गर्दै प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नभएको जिकिर गरे ।
उनले घटनापछि फैलाइएका आरोप र प्रचारलाई ‘आयातित भ्रम’को संज्ञा दिँदै भने, ‘यो गाउँका मान्छेले बनाएको कुरा होइन। बाहिरबाट पठाइएको भ्रम हो । त्यही भ्रममा परेर मान्छेहरू उकासिए, कुदाइए, तोडफोड, आगजनी र लुटपाट गराइयो।’ यस्तो भ्रम फैलाउने शक्तिहरू नै अहिले ठूलो स्वरमा बोलिरहेको ओलीको आरोप थियो ।
अध्यक्ष ओलीले एमालेमाथि विरोध नयाँ विषय नभएको भन्दै दुई तिहाइ बहुमतसहित सरकार गठन गर्दा र विकास निर्माणका काम गर्दा पनि चर्को विरोध भएको स्मरण गराए । ‘हामी देश बनाउन लागिरहेका छौँ, त्यसैले हाम्रो विरोध भएको हो,’ उनले भने, ‘हामी देश बनाउने र देश जोगाउने अभियानमा छौँ ।’
उनले आफू सरकारबाट हटेपछि झापा क्षेत्रमा विनियोजन भएका बजेट रोकिएको बताए । उनले भने, ‘म सरकारबाट हट्नेबित्तिकै यहाँका बजेट रोकिए । अहिले हामीसँग प्रतिस्पर्धा गर्न आउनेहरू नै बजेट रोकाउनेहरू हुन्।’ ओलीले यस क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गर्दै ‘यहाँ केही भएन’ भन्न नमिल्ने बताए ।
ओलीले एमाले विकासका कुरा मात्र नगरी काम गरेर देखाउने पार्टी भएको दाबी गर्दै अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।
‘हामीले गरेका कामहरू पूरा गर्न र नयाँ विकासका काम अघि बढाउन चुनाव लडिरहेका छौँ, हामी विकास गर्ने मान्छे हौँ, गरेका छौँ र गर्छौँ,’ उनले भने ।


अनलाइन डबली


