आज :

ईभी गाडीको आयात किन घट्यो ?

  • अनलाइन डबली

——————–

काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ । यसवर्ष चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन् ।
भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पुस सम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) १२ अर्ब ५ करोड ४५ लाख रुपैयाँको ५ हजार ७१ थान आयात भएको छ ।
यो आयात गत आवको सोहि अवधिको तुलनामा कम हो । गत आवको सोहि अवधिमा नेपालमा कुल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ५ हजार ४८० थान इभी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
गत असार २३ मा तिब्बतको ल्हेन्दे खोलामा गएको बाढीका कारण मित्तेरी खोलको पुल बगाएपछि रसुवा नाका ठप्प हुँदा र पहिरोका कारण केहि समय तातोपानी नाका समेत ठप्पहुँदा यसवर्ष ईभी आयातमा कमी आएको रसुवा भन्सारका अधिकृत ठाकुर गौतमले जानकारी दिए ।
यद्यपी, उक्त खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माण गरेपछि करीब ६ महिना पछि गत पुस दोस्रो साता देखि नाका पुनः सुचारु भइसकेको छ भने तातोपानी नाकापनि सुचारु नै छ ।
तर, लामो समय नाका बन्द रहँदा त्यसैको असर स्वरुप ईभी आयातमा कमी देखिएको गौतमले बताए । उनका अनुसार अहिले रसुवा नाकाबाट सातामा २०–२५ वटादेखि ५० वटा सम्म ईभी आयात हुने गरेका छन् ।
आयात भएका ईभीहरू भन्सार क्षेत्रमा राखी बिलिङ तथा पास प्रक्रिया पूरा भएपछि बजारतर्फ पठाइने गरिएको उनले बताए । हाल रसुवामा नयाँ ड्राइपोर्ट निर्माणको काम भने सुरु भइसकेको छैन । अहिले उपलब्ध ड्राइपोर्ट क्षेत्रलाई सरसफाइ तथा व्यवस्थापन गरेर नै प्रयोगमा ल्याइरहेको भन्सार कार्यालयले जनाएको छ ।
५८ करोड भन्दा बढीको माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात
चालु आवको पुस सम्ममा ५८ करोड २३ लाख ४६ हजार रुपैयाँको २ लाख ८६ हजार ३३७ थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।
गत आव र चालु आवको यस अवधिमा माइक्रो ओभन, इन्डक्सन र राइसकुकरको आयात तुलना गर्दा आयातमा खासै फरक देखिएको छैन् । अघिल्लो आवको पुस सम्म ५८ करोड ३२ लाख रुपैयाँको २१ लाख ९६ हजार ७ सय थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको थियो ।
स्मार्ट फोनको आयातमा वृद्धि
चालु आवको पहिलो ६ महिनामा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँको १२ लाख ५२ हजार ६३४ थान स्मार्टफोन आयात भएका छन् । गत आवको सोहि अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँको ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएको थियो ।
पछिल्लो समय प्रायः मान्छेले सबै जसो बिल भुक्तानी मोबाइल बैंकिङ वा एपबाटै गर्ने र अनलाइन कक्षा लिने, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा आम मानिसको पहुँच बढेका कारण पनि हरेकले स्मार्टफोन बोक्ने गर्छन् । यसले गर्दा हरेक वर्ष नेपालमा स्मार्टफोनको आयात बढेको हो ।
पछिल्लो समय विशेषगरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायी बताउँछन् । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal