काठमाडौं । क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे मनाउँदै छन् । पछिल्ला वर्षहरूमा धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक–सांस्कृतिक उत्सवका रूपमा पनि क्रिसमस नेपालका प्रमुख सहरहरूमा उल्लासपूर्वक मनाउन थालिएको छ ।
क्रिसमसको अवसरमा राजधानी काठमाडौंसहित ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रहरू सजावट र रौनकले भरिएका छन् । मुख्य सहरका सार्वजनिक स्थलमा क्रिसमस ट्रि, बत्ती र सजावट देखिन थालेका छन् भने होटल, रेष्टुरेन्ट र पर्यटन व्यवसायमा समेत चहलपहल बढेको छ ।
नेपाल ख्रिष्टियन महासङ्घले विसं २०६३ पछि क्रिसमसलाई संगठित रूपमा महोत्सवको रूप दिएको हो । तत्कालिन प्रचण्ड नेतृत्वकाे सरकारले पहिलाेपटक याे दिनमा सार्वजनिक बिदा दिएकाे थियाे ।
क्रिसमस डेका अवसरमा नेपालमा सार्वजनिक बिदा दिने व्यवस्था पनि समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । वि.सं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएकोमा केही वर्ष क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि भने पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ ।
हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन् । बढ्दो सहभागिता र सार्वजनिक चासोका कारण क्रिसमस नेपालमा बहुसांस्कृतिक उत्सवको रूपमा स्थापित हुँदै गएको देखिन्छ ।


अनलाइन डबली


