प्यारो सेन ! बाँचेर मात्रै बाँचेको देखिनु पर्ने यो चुनौतीपूर्ण घडीमा तिम्रा जीवन, साहित्य र चिन्तनबारे चर्चा गर्नु कति चुनौतीपूर्ण हुन्छ ! हो, त्यही कर्म निभाउन म आज कोहलपुर जाँदैछु । त्यहाँ कुनै बुद्धिबिलास गर्ने छैन, न त यो कुनै नेपाली साहित्यको विश्वविद्यालयको कक्षा हो । त्यहाँ मैले ठूला साहित्यिक समीक्षक वा सम्पादकलाई प्रवचन दिने पनि होइन । त्यहाँ त एउटा जागरूक समाजमा तिम्रा बारेमा चर्चा गर्नु कति कठिन होला, मलाई ?
मलाई पूर्णिमा साहित्यिक प्रतिष्ठानले ‘इच्छुक’ को मित्र र सहयात्रीको हैसियतले वक्ताको रूपमा निम्त्याएको हो । मेरा निजी सम्वन्ध त्यहाँ राखेर मलाई चुच्चे टोपी लगाउनु पनि छैन, न इतिहासका कुरा सम्झेर आफूलाई सार्थक तुल्याउनु छ । यो समय गौरवशाली इतिहास सम्झनु काउसो लागेको सोच्ने इच्छुकका मित्रजन म अहिले वरीपरी देख्दैछु । भन त इच्छुकः तिमी बाँचेकै भए के हुन्थ्यौ होला, हँ ? जब म ‘इच्छुक’ जस्ता महान् मान्छेहरूलाई सम्झन्छु, तब मलाई पनि जीवन्त देखिनुपर्ने र जीवन्तजस्तै हुने चुनौती आउँछ । मर्न सायद सजिलो होला, है ! लिखित इतिहासमा जीवनको गौरवको मूल्य ती स्पार्टकस, सुकरात, जियोर्डानो ब्रुनो, ‘इच्छुक’ आयामहरूलाई जीवन र मृत्यु रोज्ने विकल्प हुँदाहुँदै पनि उनीहरूले मृत्यु किन रोजे होलान् ! भन्ने प्रश्न उभिन्छ । तब म आफैसँग कुरागर्न थाल्छुः जब सपनाको दुर्घटना हुन्छ, तब मेरो सामु ठिङ्ग उभिन्छ एउटा ख्याउटे, शक्तिशाली चश्मा लगाएको, कुहिरे आँखा, असरल्ल कपाल, पातलो कदकाँठीको साधारण देखिने असाधारण मान्छे । ऊ हुन्छः कृष्ण सेन ‘इच्छुक’ । जब आस्थाका नायकहरूका गौरवगाथा साहित्यमा पढ्न थाल्छु, जीवनजस्ता कविता बन्छन् र कबिता जस्ता जीवन । आदर्शका गाथाजस्ता शिल्पकारका जीवन हुँदारहेछन । ती अक्षर हुँदै ती किताब गर्विलो बन्दोरहेछ । तब, एउटा आकृति बन्छ, लेखकको । त्यो हुन्छ ‘इच्छुक’ ।
इतिहासका पाना पल्टाउँदा विश्व नायकहरू मेरै देशका कृष्णलाल, गङ्गालालहरू बन्दै लामबद्ध हुन्छन् । तब मेरो छचल्किएको स्वाभिमान, देखिने सपनाका मूल्य, मान्यता र आदर्श मधुर भएका बेला फलाक्ने आदर्श नभएर तँ कहाँ उभिएको छस् भन्ने एउटा आकृतिले प्रश्न गरेर मलाई आतङ्कित बनाउँछ । त्यो हुँदोरहेछ ‘इच्छुक’ । यो चालिसको दशकको कुरा हो । जब तिमीलाई मैले पहिलो प्रहर नेपालगन्जको मित्र एग्रो फर्ममा भेटेँ, वाह… महान् मान्छे बन्न कति सरल, स्वप्नद्रष्टा र विचारको सतिसाल बन्नुपर्छ भन्ने सङ्गतले समृद्ध हुँदै गयो । सरल भाषामा पनि गम्भीर कुरा गर्न सकिन्छ भन्ने लाग्यो ।
हो, तिमी हाम्रो अगुवाइको प्रयासमा साहित्यिक मञ्चमा उभिएर भिन्न विचारसँगै लहरै बसेर कविता पनि सुनायौ । हो, तिमीले फत्ते जीयम, कन्यैया सिह परियार र अन्जना गुरगलाई साहित्य र कलाबारे ज्ञान साटयो । पछि मणि थापा पनि जोडिए । तब डेकफो (डेमोक्रेटिक कल्चरल फोरम) बन्यो । तिमीले प्रयास समूहको आयोजनामा भएको साहित्यिक गोष्ठीमा वाचन गरेका कविता अझै कानमा गुन्जिरहेकाछन् । मरेर पनि तिमी जीवित छौं । तिम्रा कतिपय दौँतरीहरू अहिले आफ्नै दुर्गन्धित लाश बोकेर भौँतारिरहेका छन् । तर्कले तीतो यथार्थ छोप्ने प्रयास गर्नेहरूले तिम्रो नामलाई अहिले साइनबोर्ड बनाएका छन् । उनीहरू र तिम्रा हत्याराहरूले तिमीलाई सम्झँदा के सोच्दा होलान ! कतै तिमी उनीहरूका सपनामा आयौ भने कति आतङ्कित होलान् ! ‘लेख्नका लागि लड, लड्नका लागि लेख’ भन्ने ‘इच्छुक’ को बारेमा बोल्ने, लेख्ने र कुरा गर्ने नैतिक पूँजी र आदर्श सबैसँग हुँदैन । म आफैंलाई पनि यो चुनौती बबुरो ठान्छु । हाम्रो समाजको विकसित मनोविज्ञान भनेको हुने, गर्ने, देखिने र बोल्ने बीचको अत्यन्त चौडा खाडल हो ।
आग्रह मौलाएको, पक्षधरताले विवेक छियाछिया पारेको यो बेला पूर्णिमा साहित्यिक प्रतिष्ठानले भिन्न आस्था र विश्वासका सर्वपक्षीय साहित्यिकजन र ज्ञानीजनलाई एकै ठाउँमा जोडेर आफ्नो प्राज्ञिक हैसियत बढाएको अनुभूत हुन्छ । सम्भवतः यो सर्वपक्षीय, भिन्न आस्थाका साहित्यिमनले ‘इच्छुक’को बारेमा देशमै पहिलो पटक विमर्श गरे जस्तो लाग्छ । उनलाई ट्रेडमार्क बनाउने संस्था र विचार पक्षधरले यस्तो भव्य कार्यक्रम गरेको मलाई अझै थाहा छैन ।
सेनको शोकाञ्जली कृति २०४८ मा प्रकाशित भयो । उनले आफ्ना मित्र मित्रमणि आचार्यलाई प्रतिक बनाए । रामपुर क्याम्पसका सभापति मित्र बाम विद्यार्थी आन्दोलनका मणि थिए । २०४२ साल वैशाख १८ गते हत्या गरिएका मित्रमणिलाई माइलादाई भनिन्थ्यो । भरतपुर वीरेन्द्र क्याम्पसका शिव पौडेल र महेन्द्र मोरङ क्याम्पसका फणीन्द्र तिम्सिनाको हत्यापछिको त्यो तेस्रो हत्या थियो । अब त मित्र र शत्रुका कोण फेरिए । सुविधाअनुसार भाष्य फेरिन्छन् । राजनीतिका व्याकरण फेरिएका बेला उनीहरूलाई सम्झनु भनेको इतिहासको स्मृति गर्नु पनि हो । व्यक्तिलाई सम्झनु, आदर गर्नु भनेको उसका आदर्श, जीवनमूल्य, सामाजिक र सांस्कृतिक विश्वदृष्टिकोण सम्झनु पनि हो ।
इतिहासले अहिले धेरैलाई टोक्छ । अझ सेनको स्मृतिले त माओवादी शक्ति र प्रगतिशील तथा प्रगतिवादी लेखनलाई जिस्क्याउँछ पनि । उनको छायाँ पनि अहिले आतङ्क बनिरहेको छ । तथ्यमा ‘इच्छुक’ को संक्षिप्त निजी जीवनः ‘इच्छुक’ एउटा व्यक्ति मात्र नभएर बहुमुखी प्रतिभा थिए । लेखन र चिन्तनको मूल्य तिर्न उनले झन्डै १० वर्ष जेल जीवन बिताए । अन्ततः संसारकै गर्विलो मान्छेहरूझैँ उनको पनि २०५९ जेठ १३ मा महेन्द्र पुलिस क्लबको हिरासतमा कुटिकुटी हत्या भयो ।
उनको जन्म भारतको देहरादूनमा वि.सं. २०१३ कात्तिक ३ मा भएको हो । उनको पैतृक थलो प्युठान भए पनि पछि अर्घाखाँची, अर्थात् अहिले कालाकोटभन्दा केही उत्तरतिर घर पर्छ । उनकी आमाः भीमकुमारी सेन, बुबाः यमबहादुर सेन, पत्नीः तक्मा केसी, छोरीः समीक्षा केसी हुन् । उनको औपचारिक शिक्षा एमए अध्ययनरत नै थियो । उनको विभिन्न संघसंस्थासँग आबद्धता रह्यो ।
अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ संयोजक, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समिति क्षेत्रीय ब्युरो सदस्य, नेकपा (माओवादी) केन्द्रीय पार्षद, प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय पार्षद, नेपाल पत्रकार महासंघ सदस्य, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघ प्रकाशित कृतिहरूः शोकाञ्जली (२०४८) इतिहासको यस घडीमा (२०५५) बन्दी र चन्द्रागिरि (२०५७) उनले कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना लगायत पत्रिकाको सम्पादन गरे । पुरस्कारहरूः साहित्य सन्ध्या पुरस्कार (२०५७) पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९) कृष्णमणि साहित्य पुरस्कार (२०५९) प्रगतिशील साहित्य पुरस्कार (२०६१, मरणोपरान्त) प्रेस स्वतन्त्रता सेनानी पुरस्कार (२०६५, मरणोपरान्त) उनको जेल जीवनः पञ्चायत र बहुदलीय दुवै व्यवस्थामा गरेर ९ वर्ष। दाङ कारागार (६ वर्ष), भद्रगोल बन्दीगृह (१ वर्ष), सिरहा र राजविराज (२ वर्ष)। उनको शहादतपछि प्रकाशित कृतिहरूः कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ,इच्छुक रचनावली भाग १–३
इच्छुकको वहानामा म केही थप संवाद गर्छु । आज प्रगतिशील लेखक कहलिन कुनै न कुनै नामधारी कम्युनिस्ट पार्टीको लालपुर्जा चाहिन्छ ।
लेखन प्रगतिशील, प्रगतिवादी हुनुपर्छ वा कुनै पार्टीको कार्डधारी बन्नु अनिवार्य छ ? यसमा बहस आवस्यक छ । ‘इच्छुक’ को बहानामा प्रगतिवादी साहित्यका आधारभूत १० बुँदामा संक्षिप्त चर्चा गरौः
१. सामाजिक यथार्थवादः प्रगतिवादी साहित्यले समाजका यथार्थ अवस्थाहरू—गरिबी, असमानता, शोषण र अन्यायलाई कलात्मक ढङ्गले चित्रण गर्छ । सत्य सधैं सर्वभौम हुँदैन, चिन्तनको पक्षधरता र समयको मनोविज्ञान अनुसार हुन्छ । सौन्दर्यभन्दा सत्यलाई प्राथमिकता दिन्छ ।
२. श्रमजीवी वर्गको पक्षधरताः यो साहित्य श्रमिक, किसान, दलित र पीडित वर्गको आवाज बन्छ । शासक वा प्रभुत्वशाली वर्गको होइन । उत्पीडित जनताको दृष्टिकोणबाट लेखिन्छ ।
३. सामाजिक रूपान्तरणको चेतनाः प्रगतिवादी साहित्यले यथार्थ मात्र देखाउँदैन, परिवर्तनको चाहना जगाउँछ । यसको लक्ष्य समाजमा समानता, न्याय र प्रगतिशील सोच ल्याउनु हो ।
४. वर्ग–सङ्घर्षको अवधारणाः समाज वर्गीय विभाजनमा आधारित छ भन्ने मान्यता प्रमुख पक्ष हो । यो धाराको केन्द्रमा छ । साहित्यलाई वर्ग सङ्घर्षको चेतना फैलाउने हतियारका रूपमा प्रयोग गरिन्छ ।
५. मार्क्सवादी विचारधाराबाट प्रभावितः प्रगतिवादी साहित्य कार्ल माक्र्स र लेनिनका विचारहरूबाट प्रेरित छ । उत्पादनका साधनको नियन्त्रण, वर्गविहीन समाज र श्रमको सम्मानमुखी दृष्टिकोण लेखनमा झल्किन्छ । अझ माओले विचार फेर्न सहज छ तर संस्कार फेर्न कठिन भनेर सास्कृतिक क्रान्ति पनि चलाए ।
६. धर्म, अन्धविश्वास र शोषण परम्पराको विरोधः यो धाराले अन्धविश्वास, जातीय भेदभाव, लैङ्गिक असमानता र धर्मका नाममा हुने शोषणको प्रतिवाद गर्छ ।
७. मानव–मुक्तिको आकाङ्क्क्षाः साहित्यको अन्तिम उद्देश्य मानवलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सबै प्रकारका दासता, भय र अन्यायबाट मुक्त गर्नु हो । यो संसारका कुनै पनि देशमा हुने अन्यायपूर्ण युद्ध र धार्मिक–जातीय युद्धको विरोध गर्छ ।
८. सकारात्मक आशा र सङ्घर्षको प्रेरणाः प्रगतिवादी लेखक निराशावादी होइन, सङ्घर्ष र परिवर्तनमा विश्वास गर्छन । उनीहरूको लेखनमा आशा, विद्रोह र नयाँ संसारको सम्भावना देखिन्छ ।
९. भाषा र शैली सरल र जनमुखी हुन्छन । तर मेरो समस्या भनेको भाष्कि क्लिष्टा हो, सुधार्न प्रयत्नशील छु । यो साहित्यले जनताले बुझ्ने भाषा प्रयोग गर्छ । सजावटभन्दा सन्देशमुखी र प्रत्यक्ष अभिव्यक्ति यसको विशेषता हो ।
१०. साहित्यको सामाजिक जिम्मेवारीमा जोडः प्रगतिवादी दृष्टिमा साहित्य केवल मनोरञ्जन होइन, समाजलाई चेतना, दृष्टि र दिशा दिने माध्यम हो । ‘साहित्य समाजको दर्पण मात्र होइन, रूपान्तरणको हतियार पनि हो ।’ कृष्ण सेन ‘इच्छुक’ जीवनभर प्रतिबद्ध प्रगतिशील र प्रगतिवादी साहित्यकार तथा सक्रियतावादी राजनीतिज्ञ रहे । उनी लेखन र भूमिकामार्फत मूल्य भुक्तानी गर्ने प्रगतिवादी साहित्यकार हुन् । कवि ‘इच्छुक’ आस्था र निष्ठाका सतिसाल हुन् ।


नरेन्द्रजंग पीटर





