आज :

मन्थली नगरपालिकाले मनायो ११ औँ स्थापना दिवस

  • अनलाइन डबली

रामेछाप । मन्थली नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस मनाएको छ । नगरप्रमुख लब श्रेष्ठको अध्यक्षतामा तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरले अहिलेसम्मको उपलब्धि र आगामी योजनाको विस्तृत प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले नगरपालिकाले पछिल्लो दशकमा सम्पन्न गरेका कार्य र आगामी वर्षहरूको स्पष्ट कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनका अनुसार पूर्वाधार निर्माण, उज्यालो सहर कार्यक्रम, विस्तृत आयोजना प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा अगाडि बढाइएका परियोजनाहरू, सरसफाइ तथा फोहोर व्यवस्थापनजस्ता महत्त्वपूर्ण कार्य नगरले निरन्तर अघि बढाउँदै आएको छ ।

नगरपालिकाले कानुन निर्माण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रम, उद्यम विकास र आयआर्जन प्रवद्र्धनजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताइन् ।

दिगो विकास लक्ष्य मार्गी योजना निर्माण, बाँझो जग्गाको सदुपयोग, दूध, मासु र तरकारी उत्पादनमा आत्मनिर्भर नगर बनाउने उद्देश्य, आधुनिक वडा कार्यालय भवन निर्माण तथा सबै वडामा कालोपत्रे सडक पु¥याउने लक्ष्य नगरले आगामी कार्यदिशाका रूपमा अघि सारेको उनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि आनन्द श्रेष्ठले नगरको उपलब्धि र भावी योजनाको प्रशंसा गर्दै आवधिक योजनालाई आधार मानेर नयाँ पहलहरू जोड्दै नगर अगाडि बढिरहेको बताए । उनले हाल जेनजी आन्दोलनका नाममा घुसपैठ गरी सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्ने गतिविधि गलत भएको बताउँदै यस्ता अराजक क्रियाकलाप रोक्न राज्यले कडाइका साथ कदम चाल्नुपर्नेमा जोड दिए ।

वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले स्थानीय सरकार नै राज्यको सबैभन्दा शक्तिशाली तह भएको उल्लेख गर्दै अदालतले प्रमाणित नगरेसम्म कुनै पनि स्थानीय नेतृत्वलाई कसैले कमजोर पार्न नसक्ने बताए । उनले संघीयताका कारण देश कमजोर नभई अझ व्यवस्थित र सक्षम बन्दै गएको उल्लेख गर्दै संघीय संरचनाको महत्वलाई कमजोर बनाउन नहुने धारणा राखे ।

वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईंले समाजमा अन्तर्विरोध विस्तार हुँदै गए द्वन्द्व चर्किने जोखिम रहने बताउँदै जनजीवनमा गहिरो प्रभाव पारेको जेनजी आन्दोलन जनताले बिर्सिन नसक्ने बताए । जनप्रतिनिधिहरू जनअपेक्षा अनुसार जिम्मेवारीपूर्वक नचल्ने हो भने असन्तोष बढ्ने उनले चेतावनी दिए ।

नगरप्रमुख लब श्रेष्ठले कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै नागरिक र नगरको हितको लागि सकेसम्म काम गरेको बताए ।

आफूले पाँच वर्षमा सम्पन्न गरेका सबै कार्यको विस्तृत प्रगति प्रतिवेदन सार्वजनिक गर्ने उनले घोषणा गरे। हिजोका अनुभवहरूलाई अध्ययन र अनुसन्धानमार्फत थप सुधार गर्दै आफूहरू अघि बढेको र भावी पुस्ताले पनि तथ्य र अध्ययनका आधारमा नेतृत्व विकास गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal