बारा – जिल्ला प्रशासन कार्यालय बाराले आज पनि सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा बुधबार नेकपा एमाले र जेनजी युवाबीच झडपपछि बुधबार र बिहीबार दिउँसो तनाबग्रस्त बनेको हो।
जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। उनीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्। सडक अवरुद्ध भएपछि अहिले प्रहरी र जेनजीबिच धकेलाधकेल भएको थियो।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार विरगंज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म दायाँबायाँ र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू जारी भएको छ l
यसैगरी सिमरामा हिजो भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ । घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि सिमराका युवाहरु सडकमा उत्रिएका छन।सिमरा बजार क्षेत्र अहिले पुनः तनावग्रस्त बनेको छ । जेन–जी युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् ।
सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।



अनलाइन डबली


