काठमाडौं । अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ केन्द्रीय अध्यक्ष कुमार पन्तले हयात रिजेन्सी होटलले होटलमा कार्यरत मजदुरहरुलाई बर्खास्त नगर्न चेतावनी दिएका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई हटाउने कार्यले आफ्नो संगठनलाई आक्रोशित तुल्याएकोसमेत उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘हायात होटल व्यवस्थापनले असाध्यै अमानवीय र गैरजिम्मेवार पुर्ण तरिकाबाट श्रमीक निस्कासन गर्ने भनि विज्ञप्ति निकालेको छ, यसमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भयको छ, र त्यस्तो कार्यको हामी घोर भत्सना गर्दछांै ।’
“२४ गतेको घट्नाबाट होटेलमा सामान्य क्षति भएको र सो मर्मत सम्भार अवधिभर श्रमीकलाई कसरी राहत तथा संरक्षण गर्न सकिन्छ भनि त्यहाँ क्रियाशील सबै ट्रेड युनियनहरु वार्ता संवादमा नै रहेको अवस्थामा व्यवस्थापनबाट जारी गरियको सूचना र प्रयोग गरिएको श्रम ऐनको दफाले अझ संगठनलाई आक्रोशित बनाएको छ । १ सय ३३ जना स्थायी श्रमीक र झन्डै ३ सय ५० जना करारलगायतमा राखिएको श्रमिकहरुको रोजिरोटी खोस्ने गरी भएको यो निर्णय तत्काल खारेज गर्न र यस सन्दर्भमा नेपालसरकारले पनि यो घटनालाई तत्काल संबोधन गर्नसमेत हामी जोडदार माग गर्दछांै । जेटियूसीसी लगायत सबै श्रमीकका संगठनहरुलाईसमेत पहलको निमित्त अनुरोध गर्दछौं ।” विज्ञिप्तिमा भनिएको छ ।
मंगलबार होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र सबै कर्मचारीहरुलाई बिदा दिन निर्देशन दिएका छन् । उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको उल्लेख छ ।


धनन्जय बुढा




