हेटौँडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन अत्याधुनिक क्षमताका ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना गरे पनि सुरक्षण मुद्रण विभागबाट सञ्चालन अनुमति नआउँदा मेसिनहरू थन्किएका छन् । यसका कारण हजारौँ सेवाग्राहीले लाइसेन्स पाउन लामो समय कुर्नु परेको छ ।
हजारौँ सेवाग्राही लाइसेन्सको पर्खाइमा
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार सवारी चालक अनुमति परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि राजस्व तिरेका हजारौँ नागरिकहरू अझै लाइसेन्सको पर्खाइमा छन् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरेपनि समयमै लाइसेन्स नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ ।
‘जेनजी प्रदर्शनका क्रममा मन्त्रालय र जिल्लास्थित केही कार्यालयहरूमा क्षति भए पनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ,’ मन्त्री थापाले भने, ’तर, सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना कानूनी अड्चनका कारण छपाइ सुरु गर्न सकिएको छैन।’
मेसिनको क्षमता र कानुनी आधार
प्रदेश सरकारले खरिद गरेका ती अत्याधुनिक मेसिनमध्ये एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता राख्दछ । प्रदेश सरकारले सुरक्षण मुद्रण ऐन, २०८१ को दफा ९ को उपदफा ३ मा भएको व्यवस्था बमोजिम जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यका साथ यो पहल अघि बढाएको हो ।


अनलाइन डबली


