आज :

रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तिनजनाको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी

  • अनलाइन डबली

रामेछाप । दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ । उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो । हिमपहिरोस्थल नजिकैबाट चार जनालाई घाइते अवस्थामा हेलिकोप्टरले उद्धार गरेको उनले जानकारी दिए ।

यसै गरी हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको छ । उनीहरूलाई पनि केही बेरमा उद्धार गरेर चरिकोट ल्याइने तयारी गरिएको प्रशासनले जनाएको छ ।

रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) हिमाल आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही यलुङ री बेस क्याम्प पुगेका थिए । बाक्लो हिमपातका कारण उनीहरूले सोही ठाउँमा टेन्ट टाँगेर बसेका थिए । सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमा रहेका बेला आकस्मिक रूपमा हिमपहिरो खस्दा उनीहरू पुरिएका थिए ।

हिमपहिरोमा पुरिएर एक विदेशीसहित तीन जनाको हिजै मृत्यु भएको पुष्टि भएको छ भने अझै पाँच जना बेपत्ता छन् । हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ ।

उद्धार तथा खोजी कार्यमा नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ । टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको छ तर दुर्गम भौगोलिक स्थिति र प्रतिकूल मौसमका कारण सो स्थलमा पुग्न कठिनाइ भएको जनाइएको छ ।

दुई छुट्टाछुट्टै ट्राभल कम्पनीमार्फत पुगेका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका लागि तयारी अवस्थामा रहेका थिए ।  आइतबार आधार शिविरमा पुगेका उनीहरू सोमबार आरोहणको तयारीमा थिए । तर सोमबार बिहानै पहिरो गएको थियो ।

स्थानीय प्रशासनले प्रतिकूल मौसममा हिमाली क्षेत्रका आरोही तथा पर्यटकहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा उच्च हिमाली भागमा लगातार बाक्लो हिमपात भइरहेको छ । यसले हिमपहिरोको जोखिम बढाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal